गृहपृष्ठ स्वीकृति नलिई प्रकाशन भएका पात्रोलाई स्पष्टीकरण सोधिने
स्वीकृति नलिई प्रकाशन भएका पात्रोलाई स्पष्टीकरण सोधिने
नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चांग) र भित्तेपात्रो (क्यालेन्डर) लाई स्पष्टीकरण सोध्ने भएको छ । समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा (ञ) र (ठ) अनुसार स्वीकृत नलिई पात्रो र भित्तेपात्रो प्रकाशन गर्न नपाइने व्यवस्था छ । स्वीकृति नलिई प्रकाशन भएमा कारबाही गरिने सूचना समितिले पात्रोमार्फत प्रकाशन गरेको छ । समितिको स्वीकृति नलिई यस वर्ष तीन पात्रो प्रकाशन भएका छन् । नेपाल, मुक्तिनाथ र ज्वाला पञ्चांग समितिको स्वीकृति नलिई प्रकाशन भएका हुन् । यसैगरी हालसम्म नौ भित्तेपात्रो समितिको स्वीकृति नलिई प्रकाशन भएको पाइएको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले बताए ।
समितिकाे स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोमा गोरखा उद्योग वाणिज्य संघ गोरखा, हेल्पिङ सोसाइटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँ महानगरपालिका-२५ टेगांल, अर्थ वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड न्युरोड, सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका-३ धादिङ, तिमल्सिना समाज केन्द्रीय कार्यालय काठमाडौँ, धनप्राप्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, न्युरोड, स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, टोखा नगरपालिका-७ धापासी, नोक्पिन हाउस, न्युरोड र कृष्ण मोहना गौशाला सुदूरपश्चिम प्रदेशले समितिको गठन आदेश विपरीती स्वीकृति नलिई भित्तेपात्रो प्रकाशन गरेको पाइएको घिमिरेले जानकारी दिए ।
पहिलो चरणको अनुगमनमा तीन पात्रो र नौ भित्तेपात्रो स्वीकृति नलिई प्रकाशन भएको तथ्य अनुगमन उपसमितिले फेला पारेको हो । अनुगमन अहिले पनि जारी छ । अनुगमनपछि स्वीकृति नलिई प्रकाशन भएका अरू पात्रो र भित्तेपात्रोको सूची सार्वजनिक गरिने समितिले जनाएको छ ।
समितिसँग स्वीकृति लिएर हालसम्म १४ पात्रो र ८०० भन्दा बढी भित्तेपात्रो प्रकाशन भएका छन् । हाल दैनिक ५० भन्दा बढी भित्तेपात्रोले समितिसँग स्वीकृति लिएका छन् । राजधानी बाहिरबाट प्रकाशन हुने पात्रो र भित्तेपात्रोले अनलाइनबाटै स्वीकृति लिन सक्ने व्यवस्था गरिएको छ ।
प्रकाशित समय : १४:५४ बजे



















