गृहपृष्ठ बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन
बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन
बागलुङको ताराखोला गाउँपालिका-३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच/सात घरमा मात्रै बसोबास छ । उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन् ।
श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तिर्ण गरेका थापाले विदेशमा अध्यययन गर्ने सपना पूरा नभएपछि काठमाडौँस्थित टोखामा दुई वर्ष कुखुरापालन गरे । २०७२ को भूकम्पपछि काठमाडौँको कुखुरापालन छोडेर बाख्रापालन गर्न गाउँ फर्किए । अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिरहेका छन् । अब उनको कुखुरापालन गर्ने योजना छ ।
'गाउँको बाँझो जग्गा देखेर बाख्रा पाल्ने सोच बनाए', थापाले भने, 'गाउँमै केही गर्ने सोच पलायो ।' बसाइँसराइले गाउँ नै उजाडिँदा बारी सबै बाँझो थियो । खेती गर्न धेरै जनशक्ति चाहिने भएपछि बाख्रापालनमा हात हालेको उनको भनाइ छ । अहिले उनी फार्म विस्तारमा लागेका छन् । थापाको फार्ममा सानाठूला गरेर १२५ बाख्रा र बोका छन् । थापाले नाफालाई ध्यान नदिई लगानी वृद्धिमा जोड दिएका छन् ।
उनले तीन वर्षअघि ३५ बाख्राबाट व्यवसाय सुरु गरेका थिए । गाउँको बाँझो जग्गाको सदुपयोग गर्दै आयआर्जन बढाउन बाख्रापलनमा लगानी गरेको उनी बताउँछन् । 'हालसम्म ३० लाख लगानी गरिसकेको छु', उनले भने । ताराखोला गाउँपालिकाले बाख्रापालनलाई प्रवर्धन गर्न नौ लाख अनुदान उपलब्ध गराएको थापाले बताए । उनले सो रकमबाट फार्म विस्तार र बोयर बोका खरिद गरेका छन् । 'गाउँ उजाडिँदै गयो, सेवा सुविधा, अध्ययन र रोजगारीका लागि गाउँ छोड्नेहरु बढे, त्यसैलाई आफूले अवसरका रुपमा लिएर बाख्रापालन गर्ने सोच बनाएर गाउँ फर्के', थापाले भने । व्यवसायमा उनलाई भाइ रिमबहादुरले सहयोग गरिरहेका छन् ।
आफ्नै ६० रोपनी र अन्य घर छोडेर गएका चार परिवारको ७० रोपनी जग्गामा थापाले बाख्रा चराउने र घाँस काट्ने गरेका छन् । सामुदायिक वनमा समेत बाख्रा चराउने गरेको थापाले बताए । 'बजारको समस्या छैन, बाख्रा खरिद गर्न व्यापारी फार्ममै आउने गरेका छन्', उनले भने ।
चरन क्षेत्र प्रशस्त भएको श्याम खर्कमा बाख्रापालनको सम्भावना अत्यधिक छ ।
प्रकाशित समय : १४:४२ बजे



















