global ime bank Long Banner Ad

गृहपृष्ठ अर्काेबर्ष हामी नेट पैसा कमाउँछन्

अर्काेबर्ष हामी नेट पैसा कमाउँछन्

अर्काेबर्ष हामी नेट पैसा कमाउँछन्
कहिले काँही बिजुली जाने कुरा हामी विरामी भए जस्तै हो 

 

 

लोडसेडिङ अन्त्यको नायकबाटै फेरि लोडसेडिङ गराउन थालियो भनेर हल्ला भयो । व्यवसायीहरुले तपाईँसँग लोडसेडिङको तालिका नै माग गरे । दिनुभयो ?

अहिले कतै पनि लोडसेडिङ छैन । लोडसेडिङ गर्नुपर्ने आवश्यकता पनि छैन । अस्ति दुई/तीनदिन रातिको समयमा केही गडबडी थियो । त्यो अचानक आएको समस्या हो । 

त्यसो भए उद्योगहरुमा अहिले पर्याप्त बिजुली पुगिरहेको छ ?

सबैतिर पुगिरहेको छ । कहीँ पनि उद्योगमा लोडसेडिङ गरिएको छैन । बेलुकाको पिक टाइममा कहीँकतै ट्रान्समिटरको कारणले समस्या आएको हुनसक्छ ।  त्योबाहेक अरु समस्या छैन ।

देशभित्रको आन्तरिक विद्युत् उत्पादन क्षमता २१ सय मेगावाट पुगेको छ । केहि बर्षअघिसम्म उत्पादन ५/६ सयसम्म मात्रै थियो । यस्तो अवस्थामा पनि पर्याप्त बिजुली पाउन नसक्नुमाथि पनि त प्रश्न गर्न सकिएला ?

२१ सय मेगावट उत्पादन त हाम्रो एक सिजनमा मात्रै हो । बर्षायाममा २१ मेगावट हामीसँग हुन्छ । त्यतिबेला हामीलाई बिजुली बढी नै हुन्छ । सुख्खायाममा उत्पादन ३५ देखि ४० प्रतिशतमा झर्छ । अहिलेको सुख्खायाममा ३÷४ महिना सधैं यस्तै हो । अर्काे कुरा के हो भने, विगत ४÷५ बर्षको तुलनामा अहिले माग २.५ गुणाले बढेको छ । डिमान्ड पनि बढेको छ भने जेनेरेट पनि बढेको छ । बर्षाको समयमा त हामीलाई ४÷५ सय मेगावट नै बढी हुन्छ । त्यसलाई निर्यात गर्छौ । अब सुख्खायाममा त हाम्रा खोलानालाको प्रकृति तपाईँलाई थाहा नै छ, अलिकति हामीले आयात गर्नुपर्छ ।

त्यस भए आयातको भर नपरी नहुने अवस्था छ ?

पाँचबर्ष अगाडी करिब करिब ४० प्रतिशत बिजुली बर्षभरी आयात गथ्र्याैं । करिब ३२० मेगावाटभन्दा बढी आयात नै हुन्थ्यो । त्यो बेला १४ घण्टा लोडसेडिङ थियो । तर अहिले हाम्रो आयातको स्थिति के हो भने, बर्षभरिमा १० प्रतिशतभन्दा कमै आयात हुन्छ । त्यही दुईतीन महिनामात्रै बढी आयात हुने हो । बाँकी हाम्रो निर्यात नै गछौं । अब हामी ‘नेट एक्पोर्टर’का रुपमा रहन्छौं । अर्काे बर्षबाट त हामीलाई धेरै आयात पनि गर्न पर्दैन ।

खपत धान्न नसकेकै कारण जसरी उद्योगहरुमा लाइन काटियो, त्यसले फेरि पनि अभाव हुँदा लाइन नै काट्ने हो कि अन्य उपाय छ ?

अब हेर्नुस्, उद्योगी साथीहरुलाई मैले बोलाएर कुरा पनि गरेको थिए । तत्कालको समस्याका बारेमा जानकारी पनि गराएको थिए । अब ग्लोबल क्राइसिसका बारेमा त सबैले सुनिनै सक्नु भएको छ । केहीसमय अगाडी चीनले काइला नै नपाएर करिब एक महिना आफ्ना उद्योग बन्द गर्‍यो । श्रीलंकाले अहिले लोडसेडिङ नै गरेर बसिरहेको छ । इन्डियामा समेत धेरै उद्योगहरु बन्द भएका छन् । किनकि युक्रेन वारदेखि धेरै खाले ग्लोबल क्राइसिसहरु छन् । कोइलाको मात्रै होइन, सबै मेटरियलको भाउ २÷३ सय प्रतिशत बढेको छ । अब पहिला ४०÷५० डलरमा प्रति मेट्रिकटन पाउने कोइलाको भाउ अहिले ४०० डलर मेट्रिकटन पुगेको छ । त्यसमा पनि भारतले हामीलाई दिने बिजुली आयात गरेको कोइलाबाट हो । त्यसैले पनि महंगो हुन्छ । यस्ता समस्या हुँदाहुँदै पनि हामीले त गर्दागर्दै आएका समस्या हो  । एकदुई दिन समस्या भएको थियो । अब यस्ता समस्या त बुझ्न प¥यो नी । मानौं भूकम्प आयो भने के हुन्छ भन्नुस् त ? अमेरिकामा समेत सुनामी आएर १५ दिन बन्द भयो । हाम्रो ४५६ मेगावाटको उपर तामाकोशीको पावरप्लान्टमा मेशिनमा समस्या आयो र १०÷१५ दिन बन्द भयो भने के हुन्छ ? प्राविधिक समस्याहरु आउँछन् । त्यसलाई बनाउन त समस्या लाग्छ नी ।

भनेपछि लाइन काट्ने समस्या कायम नै रहन्छ ?

रातिको केहीसमय एक÷दुईदिन लाइन काटिएको हो । दिउँसो त काटेकै छैन । अब त्यसैलाई लोडसेडिङ भनियो ।

हामीसँग १५÷१६ सय मेगावाट हुँदा पनि भारतबाट आयात गर्नैपर्ने अवस्था छ । नेपाल विद्युतमा आत्मनिर्भर कहिले हुन्छ ?

पहिलेकै स्थितिमा हामीले डिमान्ड नबढाएको भए, अहिलेसम्म आत्मनिर्भर भइसक्थ्यौं । अहिले डिमान्ड बढाउनु प¥यो भनेर उद्योग–उद्योगमा हामी आफै पुगिरहेका छौं । लाइन बनाइदिने काम गरिरहेका छौं । डिमान्ड बढ्नु त नेपालका लागि धेरै राम्रो हो नी । डिमान्ड बढेर एक÷दुईदिन सर्टेज भयो भन्ने चिन्ता होइन । मेरो एक महिनापछि ५ सय मेगावाट स्टिल हुँदैछ, त्यो स्टिल भयो भने एकैदिनमा करोडौं रुपैयाँ जान्छ । त्यो चिन्ता हो नी । डिमान्ड बढ्यो भने त त्यो पनि खपत हुन्छ । त्यो भएर डिमान्ड बढाउन सकियो भने थोरै आयात गर्दा पनि कुनै फरक पर्दैन । अहिलेकै अवस्थालाई हेर्दा पनि बढीमा दुई बर्ष, नभए अर्काे बर्ष हामी विद्युत आयात गर्नु नपर्ने अवस्थामा पुगिसक्छौं ।

तपाईँले विद्युतीय खपत बढाउन उपभोक्तालाई आह्वान गरिरहनुभएको छ । फेरि खपत बढाएकै कारण असहज त हुने होइन ?

होइन, असहज हुनु नै राम्रो हो नी । यदि असहज हुन्छ भने त्यसको सोलुसन हुन्छ । तर खपत बढाउनुपर्छ । पहिला लोडसेडिङ थियो अन्त्य गर्ने सोलुसन आयो । कतै ट्रान्समिशन लाइन पुगेन भने हामीले थपिरहेका छौं । यसलाई एकदमै उल्टो बनाएर ब्याख्या गर्नु हुँदैन नेपालमा सबै चिज विद्युतबाट चल्नुपर्छ । हेर्नुस् त अहिले पेट्रोलको भाउ कहाँ पुग्यो, ग्यासको भाउ कहाँ पुग्यो । अब यस्तो बेला त हामीले सबै कुरा विद्युतीयमा रिप्लेस गर्नुपर्छ । विद्युतीय गाडीहरु चलाउनुपर्छ । हामीलाई समस्या छैन । अर्काे बर्ष करिब ७÷८ सय मेगावट थप हुँदैछ । यही असारसम्मै अर्काे दुई÷तीन सय मेगावट थप हुन्छ । सबै प्रोजेक्ट पाइपलाइनमा छन्, हामीलाई समस्या छैन ।

यस्तो अवस्थामा नेपालले बिजुली बेच्न सपना कति यथार्तपरक छ ? भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्नुभयो । भ्रमणका क्रममा दुईदेशबीच उर्जाकेन्द्रीत सहमति भएका छन् । हामीलाई बिजुली बेच्न सहज छ त ?

हो, भ्रमण दलमा म पनि थिए । यसपालीको भ्रमण निकै फलदायी भएको छ । हामीले नेपालको विद्युत बर्षायाममा बेच्नै पर्छ । हामीले खपत भएर बचेको विद्युत बेच्ने भनेको हो । उफ्रिएको विद्युत फाल्ने कुरा त भएन । दिउँसोको तुलनामा राति विद्युत खपत कम हुन्छ, त्यसलाई के गर्ने ? उद्योगहरु पनि कहिले बन्द हुन्छन् कहिले रातिको समयमा एकदम कम खपत गर्छन । त्यसलाई मैले बेच्नु परेन ? त्यसलाई बेचेन भने त पानी खेर जान्छ । त्यसैले विद्युत भनेको त किन्ने÷बेच्ने गर्नुनै सबैभन्दा प्रभावकारी हुन्छ । यसो हुँदा एक युनिट पनि खेर जाँदैन । अहिले भएको सहमति एकदम ऐतिहासिक छ । नेपालमा जलविद्युतको धेरै सम्भावनालाई मनन गर्दै भएको सहमतिमा ऊर्जा उत्पादन, प्रसारण र व्यापारलाई जोड दिइएको छ। त्यस्तै, नेपालबाट निर्यात गर्नसक्ने र भारतबाट समेत आयात गर्न सकिने विषयमा पनि छलफल भएको छ। दुई देशका प्रधानमन्त्रीले बिना कुनै रोकावट विद्युत् प्रवाह गर्ने सहमति जनाउनुभएको छ। यो नेपालका लागि सबभन्दा ठुलो काम भएको छ । 

यसले बंगलादेशसँग विद्युत कारोबार गर्ने बाटो पनि खोलेको हो ?

हो, दुईदेशका प्रधानमन्त्री भएको समझदारीमा सबैकुरा छ । बंगलादेश, भुटान, नेपाल र भारतबीच पावर कोर्पेरशन भनेकै छ नी । त्यसले हाम्रो विद्युत अगााडी बढ्ने पक्का भएको छ ।

भनेपछि यी देशहरुसँग किनबेच चलिरहन्छ ?

अलिकति पुगेन भने त्यहाँबाट ल्याउन के फरक पर्छ भनेको ? सुख्खायाममा अलिकति किन्नुस्, बर्षेयाममा बेच्नुस् । त्यो भन्दा सजिलो के हुन्छ भन्नुस् त ?

सस्तो मुल्यमा आफुले बेचेर महंगोमा किन्नु परेको छ ? यो पनि त भएन नी ?

यो एक त गलत प्रचार हो ।

कतिसम्म कुरा आयो भने, ३ रुपैयाँमा बेचेर ३८ रुपैयाँमा किनियो भन्ने कुरा छ ?

यो त अफवाह फैलाएको मात्रै हो । इन्डियामा खुला बजार छ । त्यहाँ गएर आलु किने बराबर विद्युत किन्न पाउनुहुन्छ । २० रुपैयाँ भारुसम्म अधिकतम सेलिङ हो । त्यो पाउने सेलिङमा कसैले अति जरुरी भए भने कोर्ट गर्लान् नभए धेरैले गर्दैनन् । अनि त्यही सेलिङलाई देखाएर २० रुपैयाँ भारुमा किन्यो भनेर कसरी हुन्छ । हामीले तीन महिनासम्म सबैभन्दा कम ३ रुपैयाँसम्म किनेका छौं । राति हामीले ९० पैसामा समेत किनेका छौं । र हामीले बेच्नुपर्दा २० रुपैयाँसम्म बेचेका छौं ।

बिजुली आयातमा पैसा धेरै गयो भन्ने पनि छ, तथ्यांक कस्तो छ ?

आयातको कुरा गर्दा गत साल २२ अर्बको आयात भएको थियो । म त्यतिबेला थिएन । अहिले हाम्रो आयात १० अर्बभन्दा बढी जाँदैन । साउनयता अर्थात् ९ महिना अवधिमा ८ अर्बभन्दा बढीको विद्युत् खरिद गरेको छैन । यसपालि बढीमा १० अर्ब पुग्छ होला। त्यो भनेको १० प्रतिशत पनि हैन ।

तपाईँको नेतृत्व फर्किएपछि जनतामा पलाएका भरोसा कायम राख्न कतिको सहज महसुस गरिरहनु भएको छ, चुनौती छ है ?

पहिलो कार्यकालको सफलता नै मेरो लागि चुनौती हो । पहिलो कार्यकालमा हाम्रो उद्देश्य लोडसेडिङ अन्त्य गर्ने थियो, त्योबेलामा हामी कम चलाउनुस् भन्थ्यौं । इनर्जी सेभिङ गर्नुस् भनेर भन्थ्यौं । अहिले मेरो आह्वान के हो भने, अधिकतम चलाउनु भन्ने हो । जसरी हुन्छ आन्तरिक डिमान्ड बढाउने हो । गतसाल भन्दा ४ सय बढी डिमान्ड बढ्यो । र त्यो डिमान्ड बढेपछि पनि हामीले निर्यात गरेका छौं भने पहिलोपटक नेपालमा ऐतिहासिक काम भएको छ । ३९ मेगावाट भए पनि हामी निर्यात सुरु गर्‍यौं । अब हामी ४ सय मेगावाट भन्दा धेरै निर्यात गर्दैछौं । अर्काे बर्ष त हामीले नेट पैसा कमाउँछन् । हामी निर्यातकर्ताको रुपमा स्थापित हुन्छौं । १२÷१५ अर्ब त हामी निर्यात गरेरै कमाउनेछौं । दोस्रो कार्यकालमा गाउँगाउँमा बिजुली पुग्दैछ । रोड पनि पहिला ट्रयाक खुल्छ, ग्राभेल हुन्छ अनि त्यसपछि पिच हुन्छ । अहिले हामी पिच गरिरहेका छौं । त्यसका लागि हामी व्यापक संरचना सुधारका काम गरिरहेका छन् । काठमाडौंमा हामीले ३ हजार मेगावाट भन्दा बढी लोड आउँछ भनेर संरचना निर्माण गर्दछौं । त्यसका लागि समय चाहिन्छ, लगानी चाहिन्छ र जग्गा पनि चाहिन्छ । म पहिलो कार्यकालका लागि आउँदा ६२ प्रतिशत मात्रै विद्युतीकरण थियो । अहिले करिब ९५ प्रतिशत विद्युतीकरण भएको छ । बाहिर बत्ति जाने र आउने कुरालाई मात्रै इन्डिकेटर मान्नु हुँदैन । कहिले काँही लाइन काटिने कुरा त हामी विरामी भएजस्तै हो । कहिले काँही टेक्निकल समस्या आउँछ ।

अहिले प्राधिकरणको नाफा÷घाटाको अवस्था के छ ?
अहिले हामी एकदमै कम्फर्टेबल पोजिसनमा छौं । अस्ति छ महिनाको नाफा १२ अर्ब आयो भनेर हामीले सार्वजनिक गरेका छौं । अबको असार १५ भित्र १५ अर्बसम्म नाफामा पुगिन्छ भन्ने हाम्रो आकलन छ । लस घटाएका छौं अहिले । पहिला १८ प्रतिशत लस थिया । अहिले १४ प्रतिशतमा झरको छ ।

तपाईँको मुल सन्देश भनेको विद्युत खपत बढाउने नै हो भनेर बुझ्न सकिन्छ ?

तपाईँ विद्युतीय खपत बढाउनुहोस् । हामी त्यसका लागि संरचना निर्माणमा व्यापक लाग्छौं । गुणस्तरिय वितरणको जिम्मा पनि हामी लिन्छौं । अहिलेका लागि मात्रै होइन, २० बर्षपछिसम्म पनि पुग्ने गरि हामी लागिरहेका छौं ।

प्रकाशित समय : १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु