गृहपृष्ठ धनगढीमा तीनदिने ‘फारवेस्ट ट्राभल मार्ट २०२२’ सुरु
धनगढीमा तीनदिने ‘फारवेस्ट ट्राभल मार्ट २०२२’ सुरु
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबारदेखि धनगढीमा तीन दिने ‘फारवेस्ट ट्राभल मार्ट २०२२’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा मार्ट सुरु भएको हो ।
मार्टको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलले सुदूरपश्चिम प्रदेश पर्यटनका दृष्टिले अथाह सम्भावना भएको क्षेत्र भएको बताउँदै यस क्षेत्रको समग्र विकासको लागि सरकारले सहयोग गर्ने बताए । उनले कोभिड पछि पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन लागेको उल्लेख गर्दै यो मार्टले आन्तरिक तथा क्रसबर्डर पर्यटन प्रर्वद्धन हुने बताए । धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले सुदूरपश्चिम प्रदेशमा पर्यटकको रोजाइमा पर्न सक्ने थुप्रै रमणीय, घुम्नलायक ठाउँ भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको अवस्थामा आयोजना गरिएको मार्टले पर्यटन व्यवसायीको ध्यान तान्ने र यहाँका पर्यटकिय स्थलमा बाह्य पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको बताए ।
नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत-बजारका टुर अपरेटरसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको कार्यक्रम अनुरूप मार्ट आयोजना भएकोले यसले सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताए । नाटाका अध्यक्ष रमेह थापाले कोभिडले थलिएको पर्यटनलाई लयमा फर्काउन यस्ता मार्ट सहयोगी हुने बताए ।
फारवेस्ट ट्राभल मार्ट २०२२ मा सिमावर्ती भारतीय सहरहरू लखिमपुर, बरेली, रुद्रपुर, नैनीताल, देहरादुन र भारतको राजधानी दिल्लीबाट करिब ६० जना टुर अपरेटरलाई क्रेताको रुपमा सहभागी गराई प्रदेशका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायकबीच यस क्षेत्रका टुर प्याकेज बिक्री प्रवर्द्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया बी टू बी हुने छ ।
यस्तै मार्टस्थलमा सातै प्रदेशका पर्यटकीय आकर्षण झल्किने पेभिलियन, नौवटा जिल्लाका स्टलका साथैटुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाका स्टल निर्माण गरिएको छ । कार्यक्रममा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिबीच टुर प्याकेजको आदानप्रदान हुनेछ ।
प्रकाशित समय : १७:०७ बजे



















