गृहपृष्ठ विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर

विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर

विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर

रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ । वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबारविहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी बिहीबार नगरपालिकाले नमूना बस्ती हस्तान्तरण गरेको हो ।

सैनामैना नगरपालिकाले चक्रपथ निर्माण गर्दा विस्थापित हुनसक्ने परिवारका लागि भन्दै वडा नं ११ कञ्चन खोलाको किनारमा नमूना बस्ती निर्माण गरेको थियो । तराई-मधेस समृद्धि कार्यक्रमको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएका नमूना घरमा एक शौचालय र तीन कोठा रहेका छन् ।

आर्थिक वर्ष २०७५/७६ देखि सुरू गरिएको बस्ती निर्माणमा एक करोड ८६ लाख ५७ हजार बजेट लगानी भएको नगरपालिकाका इञ्जिनियर अरूण खनालले जानकारी दिए । नगरपालिकाले निर्माण गरेका १० घरमध्ये बिहीबार नौ घर हस्तान्तरण गरिएको हो । नगरपालिकाका अधिकृत सन्तकुमार चौधरीले नगरपालिकाका सबै वडाबाट एक/एक सबैभन्दा विपन्न परिवार छनोट गरी घर हस्तान्तरण गरिएको जानकारी दिए ।

नगरपालिकाले उपप्रमुख बीना रानाको संयोजकत्वमा सन्तकुमार चौधरी र पञ्जीकरण अधिकृत केशवराज अर्याल सदस्य रहेको समिति गठन गरी विपन्न परिवार छनोट गरेको थियो । वडा कार्यालय र समितिले गरेको सिफारिसका आधारमा उक्त परिवारलाई घर हस्तान्तरण गरिएको हो ।

चक्रपथ निर्माणका क्रममा वडा नं ५ मा रहेको सानो घरसमेत भत्काएर विस्थापित बनेकी राजकुमारी थारूले नगरपालिकाले घर बनाएर दिएपछि खुसी लागेको बताइन् । विकास निर्माण गर्दा घरखेत नै गुमाउने परिवारलाई नगरपालिकाले जस्तै बासको व्यवस्था गरिदिनुपर्ने उनले बताइन् ।

विपन्न परिवारलाई घर हस्तान्तरण गर्दै राष्ट्रियसभामा नेकपा (एमाले)का प्रमुख विपक्षी दलका नेता खिमलाल भट्टराईले सरकार नागरिकका हरेक दुःखसुखमा सँगै रहनुपर्ने बताए । हस्तान्तरण गरिएका घरपरिवारबाट नगरपालिकाले मासिक १०० शुल्क लिने गरी कार्यविधि बनाइएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित समय : १५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु