गृहपृष्ठ बिम्स्टेक क्षेत्रका जनताका निम्ति योगदान गर्ने नेपालको प्रतिवद्धता
बिम्स्टेक क्षेत्रका जनताका निम्ति योगदान गर्ने नेपालको प्रतिवद्धता
नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई पुनरुत्थान गर्न सबै सदस्य राष्ट्रबाट नवीन प्रतिवद्धता अपरिहार्य भएकामा जोड दिएको छ ।
संगठनको पाँचौँ शिखर सम्मेलनको पूर्वसन्ध्यामा कोलम्बोमा मंगलबार अपराह्न भएको सदस्य मुलुकका विदेशमन्त्रीको १८औँ बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले बिम्स्टेकको पुनरुत्थानका लागि नवीकरणीय संकल्प, सामूहिक प्रतिवद्धता र ठोस कार्यमा जोड दिएका हुन् । मन्त्री खड्काले जनताको जीवनस्तर उकास्न, समान अवसर सिर्जना गर्न र बंगालको खाडीको शान्ति र समृद्धिको आकांक्षा पूरा गर्न साझेदारी एवं सहकार्य गर्नुपर्ने खाँचो औँल्याएको कोलम्बोस्थित नेपालको राजदूतावासले जनाएको छ ।
संगठनलाई गतिशील तुल्याउन वर्तमान चुनौतीअनुरूप नवीन मार्गहरू पहिल्याउनुपर्ने उनले बताए । साथै उनले बिम्स्टेक क्षेत्रका जनताको विकास सुनिश्चित गर्न नेपालको रचनात्मक योगदान रहने प्रतिवद्धता व्यक्त गरे ।
मंगलबार नै परराष्ट्रमन्त्री खड्काले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षसँग उनकै कार्यकक्षमा शिष्टाचार भेट गरे । प्रधानमन्त्री राजपाक्षले दुई देशबीचको सुमधुर र मैत्रीपूर्ण सम्बन्धको विद्यमान अवस्थाप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सहयोग अझ सुदृढ हुने विश्वास व्यक्त गरे । परराष्ट्रमन्त्रीले बिमस्टेक प्रक्रियाप्रति श्रीलंकाको प्रतिवद्धताको प्रशंसा गर्दै पारस्परिक हितका क्षेत्रमा सहयोग अभिवृद्धिका लागि श्रीलंकासँग निकट सम्पर्कमा रहेर काम गर्न नेपाल इच्छुक रहेको बताए ।
प्रकाशित समय : १२:३४ बजे



















