थुनामा राख्ने निर्णयविरुद्ध पल शाह पुगे उच्च अदालत पोखरा
वि.सं.२०७८ चैत १५ मंगलवार २१:२४
shares

नावालिका बलात्कारको अभियोगमा जिल्ला अदालतवाट पुर्पक्षका लागि थुनामा पठाइएका पल शाह उक्त निर्णयलाई चुनौती दिँदै उच्च अदालत पोखरा पुगेका छन् ।
जिल्ला अदालत तनहुँको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै शाहले आफ्नो बारेसमार्फत् उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । मुलुकी अपराध संहितको ७३ नम्बर निवेदन लिएर शाह उच्च आएको पोखरा उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।
शाहको निवेदनमा आफूलाई थुनामा पठाउने आदेश त्रुटिपूर्ण भएकाले बदर गर्दै धरौटी वा साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरिएको छ । पीडितले दिएको बयान र अरु साक्षीहरुले दिएको बयान नै फरक परेको, पीडितको उमेरसमेत ढाँटेर बयान गरेको लगायत दाबी उनले आफ्नो निवेदनमा गरेका छन् ।
उनले निवेदनमा जिल्लाको आदेशले बलात्कारको अभियोगमा पुष्टि हुनसक्ने आधार लिन नसक्ने दाबी गरेका छन् । त्यस्तै पीडितमाथि बलात्कार भएको भए तत्कालै जाहेरी दिनुपर्नेमा करिब एक वर्षपछि मात्र दाबी गर्नु र आफूमाथि विवाहको दबाबसमेत बढाएको र त्यसलाई अस्वीकार गरेपछि बलात्कारको झुटो अभियोग दायर भएको दाबी गरिएको छ ।
गत बिहीबार तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनका म्यानेजर कृष्ण जोशी भने एक लाख धरौटीमा रिहा भएका थिए ।
























