global ime bank Long Banner Ad

गृहपृष्ठ पानीमा भलिबल प्रतियोगिता हुँदै

पानीमा भलिबल प्रतियोगिता हुँदै

पानीमा भलिबल प्रतियोगिता हुँदै

बाहिरतिर सामुद्रिक किनार या पौडीपोखरीमा भलिबल खेलेको देखे सुनेकै हो । हाम्रोमा भने नौलो हुन सक्छ, पानीमा खेलिने भलिबल । राष्ट्रिय खेल भलिबलका लागि उर्वर थलो गलकोटमा मंगलबारदेखि पानीमा खेल्ने भलिबल प्रतियोगिता (वाटर भलिबल गेम) हुँदैछ ।

गलकोट नगरपालिका-३ चिसापानीस्थित दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टले प्रतियोगिता आयोजना गरेको हो । रिसोर्टमा रहेको पौडीपोखरीमा खेल सञ्चालन हुने रिसोर्टका सञ्चालक हुम थापाले जानकारी दिए । पाँच दिनसम्म चल्ने प्रतियोगितामा वडास्तरीय टोली सहभागी हुनेछन् । '१५ देखि २० टिमले स्पर्धामा भाग लिने अनुमान छ, गुल्मीसम्मका खेलाडी टिम सम्पर्कमा आएका छन्', सञ्चालक थापाले भने, 'खेलको बिकाससँगै गलकोटलाई नयाँ ढंगबाट चिनाउन पानीमा भलिबल प्रतियोगिता राखिएको हो ।'

गलकोट भलिबल टोलीका प्रशिक्षक सुरेन्द्र केसीले सम्भवत: नेपालमै पहिलोपटक यस किसिमको भलिबल खेल हुन लागेको बताए । 'यो जहीँतहीँ खेलाउन सम्भव हुँदैन, मापदण्ड पुग्ने पौडीपोखरी चाहिन्छ', उनले भने, 'गलकोटमा पूर्वाधार पनि भएको र खेलाडी पनि उत्सुक देखिएकाले प्रतियोगिता पक्कै सफल हुनेछ ।' यस प्रतियोगिताबाट नयाँ अनुभव, सिकाइ र पानीमा खेलिने भलिबलको सम्भावना पहिल्याउन पनि सघाउ पुग्ने विश्वास लिइएको छ । पौडीपोखरीभित्र भलिबल खेल हुने चर्चाले खेलप्रेमी पनि प्रतियोगिता हेर्नका लागि उत्साहित छन् । रिसोर्ट परिसरमा रहेको २० मिटर लामो पौडीपोखरीमा खेल हुनेछ ।

एक टोलीबाट चारजना खेलाडी स्पर्धामा उत्रनेछन् । खेल लिग प्रणालीबाट खेलाइने आयोजकले जनाएको छ ।प्रतियोगितामा पहिलो हुने टोलीले नगद ३० हजारसहित कप र मेडल र दोस्रोले १५ हजारसहित मेडल र तेस्रोले आठ हजार पुरस्कार पाउनेछ । टोली दर्ता शुल्क दुई हजार राखिएको छ । प्रतियोगिता सञ्चालनका लागि एक लाख ५० हजार खर्च हुने आंकलन आयोजकको छ ।

पुरस्कारका लागि प्रायोजनसमेत जुटाइएको छ । जिल्ला भलिबल संघका अध्यक्ष याम श्रीसले पानीमा खेलिने भलिबलबारे आफूलाई धेरै जानकारी नभएको प्रतिक्रिया दिए । 'अन्यत्र देशमा त खेलेको देखिन्छ, नेपालमा अहिलेसम्म भएको थाहा छैन, यसको प्राविधिक पक्ष र अरू विषयमा म पनि अनभिज्ञ छु', उनले भने । अध्यक्ष श्रीसले सानो स्तरबाट भए पनि खेल आयोजना हुनुलाई सुखद मान्नुपर्ने बताए । गलकोट भलिबलका लागि नामुद ठाउँ हो ।

पछिल्लो समय गलकोट भलिबल टोलीले देशका विभिन्न भूभागमा हुने प्रतियोगितामा लगातारजसो जीत निकालेको छ । गत साता ताप्लेजुङको पाथीभरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधिसँगै नगद पाँच लाख ५५ हजार ५५५ हात पारेको टोलीका प्रशिक्षक केसीले बताए ।

प्रकाशित समय : ००:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु