गृहपृष्ठ एमालेको स्थायी कमिटी बैठक: दार्चुलामा भारतीय संरचना निर्माण रोक्न माग
एमालेको स्थायी कमिटी बैठक: दार्चुलामा भारतीय संरचना निर्माण रोक्न माग
भारतले दार्चुलाको महाकाली नदीको धार नै परिवर्तन गर्नेगरी बनाइएको संरचना रोक्न नेकपा एमाललेले सरकारको ध्यानाकर्षण गराएकाे छ । आइतबार बसेकाे नेकपा एमालेको स्थायी कमिटी बैठकले साे भारतीय कदमबारे सरकारकाे ध्यानाकर्षण गराउने निर्णय गरेको हाे ।
सरकारले थाहा पाएर पनि मौनता साँधेको एमालेकाे आराेप छ । 'महाकालीमा नदीमा धार नै परिवर्तन गर्नेगरी भारतीयले बनाइरहेको संरचनाप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । नेपालको भूमि र राष्ट्रियतासँग जोडिएको याे संवेदनशील विषयमा सरकारको मौनता खेदजनक छ,' एमालेले भनेको छ ।
यसैगरी, आगामी निर्वाचनका लागि बनाइँदै गरेको घोषणा पत्र र प्रतिबद्धता पत्रमा 'इनपुट' दिन चाहनेहरुका लागि एमालेले सार्वजनिक आह्वान गरेको छ । स्थायी कमिटी सदस्यहरुले आफूलाई लागेका कुरा चैत २० भित्र इमेलमार्फत पठाउन भनिएको छ । सरकार महँगी नियन्त्रणमा असफल भएको एमालेको ठहर छ । प्रभावकारी अनुगमन गरी राहत दिन सरकार उदासीन देखिएको भन्दै यसबारे पनि ध्यानाकर्षण गराउने एमालेले निर्णय गरेको छ ।
भारतलाई विद्युत ४ रुपैयाँमा बेच्ने र नेपालमा ३८ रुपैयाँ प्रतियुनिट खरिद गर्न बाध्य पारिएको भन्दै एमालेले यो निर्णयको पनि विरोध गरेको छ । निर्वाचन आयोगले संवैधानिक दायित्वविपरीत निश्चित पार्टीलाई लक्षित गरी मतपत्रको रङ परिवर्न गर्ने र कार्यतालिका बनाउने निर्णय गरिएको भन्दै त्यसको विरोध गरिएको छ । 'मिति घोषणा भएको र निर्वाचनतालिका समेत प्रकाशित भइसकेको अवस्थामा भएको यस्तो निर्णयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । राजनीतिक दलसँग परामर्श नगरी मत पत्रको रंग परिवर्तन गर्ने र मनोनयनका लागि दुई दिनको समय दिने निर्णय अनुचित छ । सच्याउन माग गरिन्छ,' एमालेले भनेकाे छ ।
प्रकाशित समय : ००:४७ बजे



















