गृहपृष्ठ धेरै केन्द्रीय सदस्यको सुझाव तालमेलको पक्षमा छ: रामचन्द्र पौडेल
धेरै केन्द्रीय सदस्यको सुझाव तालमेलको पक्षमा छ: रामचन्द्र पौडेल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जारी केन्द्रीय कार्यसमिति बैठकमा धेरैजसो केन्द्रीय सदस्यहरुले चुनावमा तालमेल गर्नुपर्ने पक्षमा सुझाव दिएको बताएका छन् ।
केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा पौडेलले केन्द्रीय समितिले तालमेलकै पक्षमा निर्णय गर्ने बताए । पत्रकारहरुसँग अनौपचारिक कुरा गर्दै उनले भने, 'केन्द्रले सैद्धान्तिक वा नीतिगत निर्णय गर्ने हो । तर, कुन तरिकाले तालमेल गर्ने भन्ने कुरा त तल्ला तहले नै टुंगो लगाउँछन् । सबैजसो केन्द्रीय सदस्यको सुझाव तालमेल गर्नुपर्छ भन्ने छ ।'
नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा तालमेल गर्ने वा नगर्ने भन्नेमा दुई पक्ष छन् । सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले तालमेल नगरी निर्वाचनमा जित्न मुस्किल हुने धारणा राखेका छन् । सभापति देउवाले सार्वजनिक रुपमै तालमेल गर्नुपर्ने बताइरहेका छन् । तर, शेखर कोइराला पक्षका नेताहरुले भने तालमेलको विपक्षमा धारणा राखिरहेका छन् । तालमेल गर्दै गइए नेपाली कांग्रेसको अवस्था पनि 'कांग्रेस आई' (भारतीय कांग्रेस)को जस्तो हुने उनीहरुको तर्क छ ।
विशेषगरी भरतपुर महानगरपालिकामा तालमेलको विषयलाई लिएर पार्टीभित्र फरक-फरक धारणा आइरहेका छन् ।चितवनका नेताहरुले सधैं अर्को पार्टीलाई मत दिन नसिकिने बताउने गरेका छन् । गत शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दोस्रो दिन आइतबार पनि जारी छ ।
प्रकाशित समय : २३:२९ बजे



















