गृहपृष्ठ रोहितले तीन कीर्तिमान बनाएको खेलमा नेपाल पपुवा न्युगिनीसँग पराजित
रोहितले तीन कीर्तिमान बनाएको खेलमा नेपाल पपुवा न्युगिनीसँग पराजित
युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले तीन नयाँ कीर्तिमान बनाएको खेलमा नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन बनायो ।
नेपालका लागि रोहितले कीर्तिमानी शतक बनाए । १०७ बल खेलेका उनले ७ चौका र ४ छक्काको सहयोगमा १२६ रन बनाए । रोहित नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्नै दोस्रो खेलाडी बनेका छन् । त्यस्तै उनले पारस खड्काको नाममा रहेको ११५ रनको सर्वाधिक रन स्कोरको कीर्तिमान भंग गरेका छन् ।
उनी अब नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनको नाममा १२६ रन रहेको छ । त्यस्तै नेपालका लागि आरिफ शेखले ३४ रनको योगदान गर्दा कुशल भुर्तेलले ३२ रन जोडे । बलिङतर्फ पीएनजीका लागि नोरमान भानुवाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कार्लेस एमिनी र असाड भालाले दुई-दुई विकेट लिए ।
नोसाइना पोखानले एक विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो । पीएनजीका लागि कार्लेस एमिनीले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले । १०३ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे । उनलाई सोमपाल कामीले ४६ ओभरको दोस्रो बलमा बोल्ड आउट गराए । त्यस्तै पीएनजीका कप्तान असाड भालाले ६० रनको अर्धशतकीय पारी खेले । ५५ बल खेलेका उनले ११ चौका प्रहार गरे । उनलाई नेपालका दिपेन्द्र सिंह ऐरीले २६ औं ओभरको पहिलो बलमा बोल्ड आउट गराए । पीएनजीका लागि नोरमान भानुवाले ४७ रन बनाए । उनलाई कमल सिंह ऐरीले क्याच आउट गराए । त्यस्तै जोसन किलाले १३ रनको योगदान गरे ।
त्यस्तै सिमोन एटियालाई कमल सिंहले २ रनमा बोल्ड आउट गराए । पीएनजीले चौथो ओभरको अन्तिम बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । पीएनजीका हिरी हिरी ४ रन बनाएर आउट भए । उनलाई नेपालका सोमपाल कामीले क्यच आउट गराएका हुन् । सोमपालको बलमा विकेट किपर अनिल शाहले क्याच गरे । १३औं ओभरको अन्तिम बलमा पीएनजीले आफ्नो दोस्रो विकेट गुमायो । पीएनजीका टोली उरालाई नेपालका दिपेन्द्र सिंह ऐरीले क्याच आउट गारए । दिपेन्द्रको बलमा भिम सार्कीले क्याच गरे ।
उराले ३८ रन बनाए । पीएनजीले २७ ओभरको पहिलो बलमा पाँचौं बलमा चौथो विकेट गुमायो । पीएनजीका सेसे बाउलाई सन्दीपले क्याच आउट गारए । सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरे । रिले हेकुरे पीएनजीको पाँचौ विकेटको रुपमा पेवेलियन फर्किए । उनलाई पवन सरार्फ ४२ औं ओभरको दोस्रो बलमा ३१ रनमा बोल्ड आउट गराएका हुन् ।
आईसीसी विश्वकप डिभिजन टूअन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले आज घरेलु मैदानमा पीएनजीसँग पहिलो एकदिवसीय सिरिज खेलेको हो । यो जितसँगै पीएनजीले सिरिजमा १-० को अग्रता बनाएको छ ।
प्रकाशित समय : २३:१५ बजे


















