गृहपृष्ठ विदेश जाने सोच त्याग्न प्रधानसेनापतिको आग्रह
विदेश जाने सोच त्याग्न प्रधानसेनापतिको आग्रह

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका संगठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन् । भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने भएकाले परिश्रम र देशभक्तिको ज्ञान अरुलाई सिकाएर सहयोग पुर्याउनु पर्छ भने ।
प्रधानसेनापति शर्माले भने, 'स्वदेशमै बसेर माटो खन्ने खोस्रने गर्नुस्, परिवार, समाज र देशको आर्थिक विकासमा टेवा पुर्याउनुस्, विदेश जाने सोचमा हुनुहुन्छ भने त्याग्नुस् ।' विदेशमा गएकाले धेरै दु:ख पाएको देखेको घटना सुनाउँदै उनले भने, 'त्यहाँ नेपाली तल्लो स्तरको काम गरेको देख्दा चित्त दुख्छ, नेपाली माटोमै केही गरेर देखाउनुस्, विदेशमा पैसा फलेको हुन्न, झन् दु:ख पाइन्छ, तपाई सक्षम हुनुहुन्छ तालिम र ज्ञानलाई यही प्रयोग गर्न अनुरोध गर्छु ।'
कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले कोषमार्फत प्रदान गरिएको सहुलियतपूर्ण कर्जाको सदुपयोग गरी स्वरोजगार र आयआर्जन बढाउँदै जीवनस्तर उकास्न सुझाव दिए । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका वरिष्ठ उपाध्यक्ष अवकाशप्राप्त सहायक रथी केशरबहादुर भण्डारी, अप्रा उपरथी शम्शेर ठकुरी र बलाध्यक्ष रथी सरोज प्रताप राणाले कोषमार्फत सञ्चालन भएका स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियत कार्यक्रमले भूपू सैनिकको जीवनस्तर उकास्न गरेको योगदानको चर्चा गरेका थिए ।
सम्मेलनका क्रममा १०६ वर्षीया एकल महिला भद्रकाली कठायत र ९३ वर्षीय खड्गजीत खत्रीलाई ज्येष्ठ भूपू तथा एकल महिलाको सम्मान प्रदान गरिएको थियो ।
प्रकाशित समय : १९:५९ बजे