गृहपृष्ठ बलात्कार आरोपी पलको पक्षमा १२ वकिलले बहस गर्ने, आजै थुनछेक आदेश
बलात्कार आरोपी पलको पक्षमा १२ वकिलले बहस गर्ने, आजै थुनछेक आदेश
बलात्कार मुद्धाका आरोपी पल शाहको पक्षमा १२ वकिलले बहस गर्ने भएका छन् । जिल्ला अदालत तनहुँमा बुधबारदेखि जारी थुनछेक बहसमा बुधबार पीडितका पक्षमा ९ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
पीडितको पक्षबाट बुधबार जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए।
पलका पक्षबाट बुधबार २ जना अधिवक्ता भानुभक्त सुवेदी र परशुराम गिरीले बहस गरेका थिए । बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेको बहस टुंगिएको थिएन । जिल्ला अदालतका स्रेष्तेदार मीनबहादुर कुँवरका अनुसार आज बिहान ११ बजेदेखि वाग्लेको बहस फेरि सुरू भएको छ ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाकाे इजलासमा जारी बहसमा बिहीबार पलका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता काफ्लेको बाँकी बयान दिने जनाएका छन् । त्यसपछि बरिष्ठ अधिवक्ता यदुनाथ खनाल, लव मैनाली, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरेलगायत १२ जनाले पलको पक्षबाट बहस गर्ने बरिष्ठ अधिवक्ता काफ्लेले जानकारी दिए ।
थुनछेक बहसमा पीडितका पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीले पीडकलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका छन् । पीडितका पक्षबाट सुरूवाती बहस गरेकी अधिवक्ता राधिका खतिवडाले पललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने १७ वटा कारण पेश गरेकी थिइन् ।
थुनछेक बहस सकिएपछि अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउने कि धरौटी वा तारेखमा छाड्ने भन्ने निर्णय आउनेछ । थुनछेक आदेश बिहिबार नै आउने सक्ने अनुमान गरिएकाे छ ।
प्रकाशित समय : १६:५७ बजे


















