गृहपृष्ठ तुलसीपुरको ‘झाँक्रीगेल’ झरना ओझेलमा

तुलसीपुरको ‘झाँक्रीगेल’ झरना ओझेलमा

तुलसीपुरको ‘झाँक्रीगेल’ झरना ओझेलमा

दाङको तुलसीपुर उपमहानगरपालिका-१९ सुन्दरखोलास्थित झाँक्रीगेल झरना ओझेलमा परेको छ । प्रचार-प्रसारको अभावले सो झरना ओझेलमा परेको हो । तीनवटा खोला मिसिएर बनेको उक्त झरना अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैन ।

मनमोहक झरनाको अवलोकन गर्न न्यून संख्या आन्तरिक पर्यटक आउने गरेका छन् । बिजौरीबाट करिब आठ किलोमिटर उत्तरमा रहेको उक्त झरनालाई पर्यटकीय गन्तव्य बनाउन ठोस कदम चाल्नुपर्ने स्थानीय प्रविर पुन बताउँछन् । 'मनमोहक झरनाको हामीले प्रचारप्रसार गर्न सकेका छैनौँ । यसको प्रचार-प्रसार गर्न सके पर्यटकलाई आकर्षित गर्न सकिन्छ', उनले भने ।

उक्त झरनाको लम्बाइ ३० मिटर रहेको छ । झरनाभित्र एउटा गुफासमेत छ । त्यसले पनि पर्यटकलाई आकर्षित गर्न सक्ने स्थानीय पलबहादुर खड्काले बताए । 'त्यहाँसम्म पुग्न सडक निर्माण आवश्यक छ', उनले भने ।

झरनामा खानीखोला, राजा पँधेरो र तिनुखोलाको पानी मिसिएको छ । झरनाको सिरानमा दुईवटा ताल छन् । तीमध्ये एउटालाई ‘ताउले’ र अर्कोलाई ‘घैटे’ ताल नामकरण गरिएको छ । एउटाको आकार ताउलोजस्तो तथा अर्को घैटोजस्तो छ ।

तुलसीपुर उपमहानगरपालिका-१९ का वडाध्यक्ष रामबहादुर योगी झरनाको प्रचारप्रसारका लागि काम अघि बढाइएको बताउँछन् । 'यसको विकासका लागि गुरुयोजना बनाउने काम भइरहेको छ', उनले भने ।

प्रकाशित समय : १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु