गृहपृष्ठ अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दायर

अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दायर

अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दायर

नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा मंगलबार बलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो ।

नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई गत फागुन १५ गते नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका पल आफैँ प्रहरीसमक्ष पुगेका थिए । फागुन ११ गते नाबालिका गायिकाले पलविरुद्ध बलात्कार तथा यौन हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन् । अभियोगपत्रमा १२ देखि १४ वर्षको जेल सजाय माग दावी गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । शाहका म्यानेजर कृष्ण जोशीलाई मतियारको रूपमा देखाइएको छ । पललाई मागदावी गरेको सजायको आधा कैद सजाय माग गरेको शर्माले बताए । अब जिल्ला अदालतले उनीसँग बयान लिनेछ । त्यसपछि थुनछेक बहस हुनेछ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर हिजो अनुसन्धान रिपोर्ट सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । हिजो नै मुद्दा दर्ता गराउने तयारी थियो । तर, समय अभावका कारण दर्ता हुन सकेको थिएन । पलविरुद्ध तीन पटक म्याद थप गरेर अनुसन्धान गरिएको थियो ।

यसअघि नै जिल्ला अदालत नवलपुरमा भने उनीविरुद्ध बलात्कार तथा यौन दुर्व्यवहार गरेको भन्दै अभियोगपत्र दायर गरिएको छ । गत चैत ३ मा जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको थियो । नवलपुर अदालतमा पललाई १२ देखि १४ वर्ष जेल सजायको माग गरिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको थियो ।

शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

प्रकाशित समय : २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु