पैदल यात्री किचेर मार्नेलाई जम्मा ६ महिना कैद, १० हजार जरिवानाकाे फैसला
वि.सं.२०७८ चैत ८ मंगलवार १५:४५
shares

मदिराको नशामा अर्ध बेहोस भएर गाडी चलाउँदा पैदल यात्रीलाई किचेर मारेका पृथ्वी मल्ललाई जम्मा ६ महिना कैद सजाय भएको छ । काठमाडौं जिल्ला अदालतले २ वर्ष अगाडिको घटनाबारे फैसला गर्दै मल्ललाई जम्मा ६ महिना कैद र १० हजार जरिवानाको सजाय सुनाएको हो ।
कारागारको रेकर्डमा मल्ल सात महिना कारागार बसिसकेकाले उनी पुनः कारागार बस्नुपर्ने छैन। उनले अब तोकिएको १० हजार जरिवाना तिरे पुग्नेछ ।
उनलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले १० वर्ष सजायको माग गर्दै अभियोग पत्र दर्ता गरेको थियो । तर अदालतबाट सोमबार फैसला आउँदा ६ महिना मात्रै कैद तोकिएको हो । न्यायाधीश सूर्यप्रसाद अधिकारीको एकल इजलासले मल्ललाई सजाय र जरिवानाको फैसला सुनाएको हो। फैसलामा चालकले लापरबाहीपूर्वक सवारीसाधन चलाएको मात्र पुष्टि भएको उल्लेख छ।
अमेरिकामा बस्दै आएका मल्ल नेपालमा आएर साथीहरूसँग रमाइलो गर्दै बुढानीलकण्ठमा रहेको एक रिसोर्टमा पुगेर फर्कनेबेलामा २०७६ मंसिर २७ मा लीला देवकोटालाई ठक्कर दिएका थिए ।बा १४ च ६१२३ नम्बरको कार चलाएका उनी रातभर केसिज रेस्टुरेन्ट, एलओडी, सेनेट क्लबमा रक्सी खाएर बिहान बुढानीलकण्ठमा रहेको ग्रिनभ्याली पार्क रिसोर्टमा पुगेका थिए।
रिसोर्टमा पुगेर पुनः रक्सी थपेर मातिँदै घर फर्कनेक्रममा फुटपाथमा हिँडिरहेकी देवकोटालाई ठक्कर दिएका थिए । गम्भीर घाइते देवकोटाको उपचारकै क्रममा मृत्यु भएको थियो । कारमा सवार अभिनेत्री पारमिता आरएल राणा लगायतहरु घटनास्थलबाट भागेका थिए ।

























