गृहपृष्ठ जनयुद्धका घाइतेलाई भेट्न प्रचण्ड वीर अस्पतालमा, खर्चको अभाव हुन नदिने प्रतिवद्धता
जनयुद्धका घाइतेलाई भेट्न प्रचण्ड वीर अस्पतालमा, खर्चको अभाव हुन नदिने प्रतिवद्धता

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वीर अस्पताल पुगेर जनयुद्धका घाइतेसँग भेट गरेका छन् । अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
काभ्रे जिल्लाको महाभारत गाउँपालिका-६ निवासी रानालाई भेट गरि प्रचण्डले उपचारको लागि अब खर्चको दुःख हुन नदिने प्रतिबद्धता व्यक्त गरे । मकवानपुरको झुरझुरेमा भएको दोहोरो भीडन्तका बेला उनको टाउकोमा गोलीको छर्रा लागेको थियो । त्यसपछि घाइते भएका उनी शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारी रहि काम गर्दै आएका थिए । टाउकोमा लागेको चोट फेरि बल्झिएपछि रानाको खुट्टामा इन्फेक्सन देखिएको थियो । टाउकोमा नसा ब्लक भएपछि रानाको दुवै खुट्टा अप्रेसन गरेर फाल्नु परेको उनको उपचारमा संलग्न चिकित्सकहरुले प्रचण्डलाई बिफ्रिङ गरे ।
परिवार र चिकित्सकले खर्च अभावको कुरा उठाएपछि प्रचण्डले सहयोगको प्रतिवद्धता जनाएका हुन् । ‘उपचार खर्च, परिवारका लागि पार्टीले सहयोग गर्छ, सरकारसँग पनि कुरा गर्छौ,’ उनले भने, ‘खर्चको दुःख हुन अब दिन्नँ, दिइन्न ।’
प्रकाशित समय : १५:५८ बजे