global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बागलुङका चार स्थानमा प्रहरी चौकी स्थापना

बागलुङका चार स्थानमा प्रहरी चौकी स्थापना

बागलुङका चार स्थानमा प्रहरी चौकी स्थापना

शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाको सबै पालिकामा प्रहरी चौकी स्थापना गर्ने गृह मन्त्रालयको निर्णयानुसार केही पालिकामा प्रहरी चौकी स्थापना हुँदै गएका छन् ।

बागलुङमा नयाँ चारवटा प्रहरी चौकी स्थापना गर्ने निर्णयानुसार हालसम्म जिल्लाको बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बागलुङ नगरपालिकामा स्थापना गर्ने निर्णय भएको थियो । सोहीअनुसार बरेङ गाउँपालिकाको सुडला, ताराखोला गाउँपालिकाको भातखाने डाँडा, निसीखोलाको जुग्गाखोला र बागलुङ नगरपालिकाको पञ्चकोटमा नयाँ प्रहरी चौकी स्थापना गरिएको छ ।

निसीखोलाको जुग्गाखोलासहित सबै स्थानमा प्रहरी चौकी स्थापना भइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए । 'जिल्लाको चार स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णयानुसार अहिलेसम्म चारवटै स्थानमा प्रहरी चौकी स्थापना भएका छन् । भातखाने डाँडा ताराखोला, प्रहरी चौकी सुँडाला बरेङ गाउँपालिका, प्रहरी चौकी पञ्चकोट र जुग्जाखोलामा चौकी सथापना भएका हुन्', एसपी ज्ञवालीले भने, 'जनतालाई शान्ति सुरक्षाको पहुँच बढाउन चार स्थानमा चौकी स्थापना गरिएको हो, जसकारण बागलुङको शान्ति सुरक्षामा ठूलो सहयोग गर्नेछ ।'

पन्ध्र-पन्ध्र जनाको दरबन्दी रहने प्रहरी चौकीमा तत्कालका लागि हबल्दारको नेतृत्वमा पाँच जना राखेर सेवा सुरु गरिएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट जनशक्ति व्यवस्थापन गरेर चौकी स्थापना गरिएको ज्ञवालीको भनाइ छ । जिल्लावासीको शान्ति सुरक्षाका लागि चौकी थपिएको भन्दै यसले आम नागरिकलाई ठूलो सहयोग पुग्ने एसपी ज्ञवालीले बताए ।

बागलुङ जिल्लामा हाल तीनवटा ‘क’ र चारवटा ‘ख’ श्रेणीका गरी सात इलाका प्रहरी कार्यालय छन् । जसमध्ये ‘क’ श्रेणीमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ, इलाका प्रहरी कार्यालय गलकोट र इलाका प्रहरी कार्यालय बरेङ डाँडा रहेका छन् भने ‘ख’ श्रेणीका इलाका प्रहरी कार्यालय बलेवा, भीमगिठे, झिवाखोला र ताराखोला रहेका छन् ।

जिल्लामा प्रहरी चौकी नयाँसहित १७ वटा प्रहरी चौकी, दुई प्रहरी पोष्ट रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिए । दुईवटा प्रहरी पोष्टमध्ये बागलुङ कालिका मन्दिर परिसरमा एउटा र कुँडुलेमा एउटा रहेको छ ।

जिल्लामा चारवटा सामुदायिक प्रहरी सेवा केन्द्र रहेको भण्डारीले जानकारी दिए । जसमध्ये दुईवटा जिल्ला सदरमुकाम बागलुङमै छन् भने दुईवटा गलकोट र बुर्तिबाङमा रहेका छन् । जिल्लाका विभिन्न स्थानमा स्थापना भएका प्रहरी चौकीले नागरिकको सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रहरी प्रमुख दयानिधि ज्ञवालीले बताए ।

उनले जिल्लाका अतिआवश्यक ठाउँमा नयाँ प्रहरी चौकी स्थापना भएको भन्दै अब समाजमा हुने अपराधजन्य घटना न्यूनीकरणका लागि सहज हुने बताए ।

प्रकाशित समय : १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु