गृहपृष्ठ एसियाकै पहिलो कृषि कर्जा मेला नेपालमा
एसियाकै पहिलो कृषि कर्जा मेला नेपालमा
विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको 'कृषि कर्जा मेला' नेपालमा आयोजना हुने भएको छ । यही चैत ९ देखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो । यो मेलालाई आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेकाे छ ।
मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक लिमिडेट र कृषि विकास बैंक रहेका छन् । सहयोगी संस्थाहरुमा बैंकर्स एसोसिएसन, शिखर इन्सुरेन्स, फोन पे र डेभलपमेन्ट एअरलायन्स नेपाल रहेका छन् । मेलाको रिसर्च पार्टनरको रुपमा थ्री एस फाउन्डेशन रहेको छ । त्यस्तै साे मितिमा र सोही स्थानमा सलोम ५औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०७८ पनि आयोजना गरिएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले सो प्रदर्शनीको आयोजना गरेको हो ।
प्रदर्शनीमै कृषि कर्जा मेलाको पनि आयोजना गरिएको र यो मेलाको थप आकर्षण हुने संघका अध्यक्ष खोजराज कटुवालले बताए । कृषिसँग जोडिएका सबै विषयलाई एकै ठाउँमा समावेश गर्ने उद्देश्यले कृषि कर्जा मेलाको पनि आयोजना गरिएको उनले बताए । 'कृषक र कृषिसँग जोडिएका मेला भ्रमणकर्तालाई एकै थलोमा सबै समस्याको समाधान होस् भन्ने उद्देश्यले यो मेला आयोजना गरिएको हो,' कटुवालले भने ।
कृषिकर्जा विगत तीन वर्षमा करिब ५८ हजार जनाले मात्रै लिन सकेको तथ्यांक छ । धितोको अनिवार्यता, झण्झटिलो प्रकृया, उच्च दरको ब्याज र सेवा शुल्क आदि कारणले पनि कृषकहरु बैंकसँग कृषि कर्जाको पहुँचमा पुग्न सकेका छैनन् । यो अवस्थामा आयोजना हुने कृषि कर्जा मेलाले कृषक र सरोकारवालालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको मेला संयोजक सुष्मा शर्माले बताइन् । मेलाले बैंक र कृषकहरुलाई एकै थलोमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरुलाई जानकारी गराई कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने शर्माको भनाइ छ ।
यसैगरी बैंकहरुलाई कृषि कर्जा व्यवसाय विस्तारमार्फत बजारमा सहयोग पुर्याउने, नीति निर्माता, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक र कृषकहरुको उपस्थितिमा कृषिकर्जाको राष्ट्रिय संवाद एवं कार्यशाला सञ्चालन गरी आगामी दिनमा थप कृषि कर्जामैत्री नीति निर्माणमा सहयोग पुर्याउने र कृषक, बैंक, सेवाप्रदायक र नीति निर्माताबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।
प्रकाशित समय : १९:२५ बजे