गृहपृष्ठ नेपालगञ्जमा ३ दिने ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
नेपालगञ्जमा ३ दिने ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
नेपाल पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा बाँकेको नेपालगञ्जमा ३ दिने वेष्टर्न ट्राभल मार्ट बिहीबारदेखि सुरु भएको छ । नेपालगञ्ज र यस वरपरका क्षेत्रहरुका साथै कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन गरी पर्यटन गतिविधिहरुको अभिवृद्धि गर्ने उद्देश्यका साथ मार्टको आयोजना गरिएको हो ।
लोपोन्मुख जाति राउटेका मुखियाले पानसमा दीप प्रज्वलन गरी सिद्धार्थ होटल परिसरमा मार्टको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानरपालिकाका मेयर डा. धवल शमशेर राणाले नेपालगञ्ज र यस वरपरका क्षेत्रहरुको पर्यटन प्रवर्द्धनका लागि मार्टको आयोजना गरिएको र यस मार्टले नेपालगञ्जलाई आतिथ्यताको क्षेत्रमा थप स्थापित गर्ने विश्वास व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको लागि भारत सबैभन्दा ठूलो बजार भएकाले बोर्डले भारतीय सिमावर्ती सहरहरुलाई लक्षित गरी त्यहाँका टुर अपरेटहरुलाई मार्टमा आमन्त्रण गरेको बताए । उनले नेपालगञ्ज हुँदै बर्दिया र पहाडी क्षेत्रहरुको भ्रमण प्याकेजहरुको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । यस मार्टमा नेपालगञ्जलाई पश्चिम नेपालका साथै Gateway of Karnali रुपमा प्रवर्द्धन गरिएको छ । नाट्टा च्याप्टर बाँके यस मार्टको स्थानीय आयोजकको रुपमा रहेको छ भने पर्यटन सम्बद्ध अन्य संस्थाहरु सहआयोजकको रुपमा रहेका छन् ।
पश्चिम नेपाल क्षेत्रको पर्यटन प्रवर्द्धन गरी भारतीय बजारमा बजारीकरण गर्न लखनउ, दिल्लीलगायत भारतीय सिमावर्ती सहरहरुबाट करिब ५० जना टुर अपरेटर र सञ्चारकर्मीहरुलाई नेपाल पर्यटन बोर्डले मार्टमा आमन्त्रण गरी सहभागी गराएको छ । मार्टस्थलमा करिब ३५ टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले स्टलहरु राखी प्याकेजहरुको प्रवर्द्धन गरेका छन् ।
मार्टको पहिलो दिन भारतबाट सहभागी भएका टुर अपरेटरहरु र स्थानीय पर्यटन व्यवसायीहरु बीच व्यवसायिक अन्तर्क्रिया गराई यस क्षेत्रका टुर प्याकेजहरुको बिक्री प्रवर्द्धन गरिएको छ ।
.jpg)
प्रकाशित समय : १९:५९ बजे



















