एमसीसीमा प्रचण्डको मात्रै किन सत्तोसराप, ओली-देउवा ‘खतरनाक’ छैनन् ?
वि.सं.२०७८ फागुन ११ बुधवार १६:२३
shares

हिजोआज अधिकांश मानिसहरुको समय नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गाली गरेरै बितिरहेको छ । एमसीसी सम्झौताका विषयमा प्रचण्डले खेलेको दोहोरो भूमिकालाई लिएर सत्तापक्ष, प्रतिपक्ष र सञ्चारमाध्यमसम्मका लागि प्रचण्ड खेदोको पात्र बनेका छन् ।
तत्कालीन नेकपा हुँदादेखि नै प्रचण्डका लागि एमसीसी घाँटीमा अड्किएको तातो आलु बराबर भएको थियो । न निल्न सक्ने, न ओकल्न सक्ने । अनि घाँटीमै राखिरह्यो भने पनि आफैँलाई हानी गर्ने । त्यसैले एमसीसीका विरुद्ध कसैले नारा लगाउन खोजे प्रचण्ड रोक्थे । गत वर्षकाे माघ २२ मा प्रचण्ड सहितकाे माेर्चाले आमहड्ताल गर्दा एमसीसीविरुद्धको नारा लाग्यो । झसंग भएजसरी प्रचण्डले रोकेपछि आलोचित बन्नु परेको थियो । फेरि एमसीसी पारित गर्नुपर्छ भनेर मुख खोलेरै बोलेको पनि कहिल्यै सुनिएन ।
अहिले त्यसकै प्रतिफल प्रचण्डले भोग्नु परेको छ । यतिबेला एमसीसीमा प्रचण्डको भूमिकालाई लिएर उनी सबैको आँखाको कसिंगर बनेका छन् । सडकमा उछाल्ने र संसदमा पछार्ने काम गरेको भन्दै प्रतिपक्षले त प्रचण्डको आलोचना गर्न सुविधाजनक मौका पाएको छ । तर अहिलेको राजनीतिक अवस्थाको कारक प्रचण्डमात्रै हुन् त ? उनी आफैँ भन्छन्, 'मलाई चौतर्फी ढंगले घेराबन्दीमा पार्ने काम भयो । प्रचण्डलाई नै सिध्याउनुपर्छ भनेर प्रहार गरिरहेका छन् ।'
यदि प्रचण्ड आफैँ घेराबन्दीमा परेको र आफूमाथि प्रहार भइरहेको महसुस गरिरहेका छन् भने उनी सरकारबाट किन बाहिरिँदैनन् भन्ने प्रश्न गम्भीर ढंगले उभिएको छ । यद्यपि अहिलेको राजनीतिक अवस्थाको कारक उनीमात्रै होइनन् । प्रचण्डको जस्तै चरित्र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको पनि छ । गठबन्धनमा सहमति जनाएर संसद् छिरेका उनी बाहिरिँदा एमसीसीमा समर्थन हुन्न भन्दै निस्किएका थिए । एमसीसीमा नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा मात्रै 'एकछापे' जस्ताे देखिए पनि कहिले ओली कार्ड त, कहिले प्रचण्ड कार्ड चलाउने उनको भूमिका झनै खतरनाक छ । बालकोट पुग्ने र गठबन्धन तर्साउने काम देउवाबाटै भएको छ ।
यता करिब ७ महिनादेखि संसद्लाई काम न काजको बनाउनेबाहेक अरु औचित्य नदेखाएको नेकपा (एमाले)ले काल अनुसारको चाल चालिरहेको छ । अरुलाई विरोध गर्दा ओलीले भन्ने गरेका छन्, 'माछा देखे दुलोभित्र हात, सर्प देखे बाहिर हात ।' ठ्याक्कै अहिले एमालेको अवस्था पनि त्यस्तै खालको छ । सभामुखविरुद्ध नाराबाजी चर्काएर संसद् अवरोध गरेको एमालेकै नेता भीम रावलले तीनै सभामुखसँग समय मागेर एमसीसीको विरोध जनाए । एमसीसीमा मुखै नखोल्ने भने पनि एमाले एमसीसीकै पक्षमा रहेको स्पष्ट देखिन्छ । फलतः सबै अवस्था अनुसारको व्यवस्था जोहो गर्न लागिपरेका छन् ।
सत्तापक्षले सरकारमै बसेर सत्ताको विरोध गरेको छ । प्रतिपक्षले तताउनुपर्ने सडक र सदन पनि सत्तापक्षकै घटकले तताइरहेका छन् । अनि प्रतिपक्षले सत्तापक्षका क्रियाकलापमा साथ दिइरहेको छ । जो सडकमा छ, उहीँ सत्तामा छ । तर माओवादी अध्यक्ष प्रचण्ड गठबन्धनभित्र पनि दबाबमा छन् । गठबन्धन बचाउने आवश्यकता पनि उनलाई मात्रै देखिन्छ । अनि प्रमुख प्रतिपक्षको भूमिकामा रहेको एमाले अध्यक्ष ओलीको गाली खाने पनि उनी नै प्रचण्ड छन् । यो प्रतिशोध मात्रै हो कि उनकै भूमिका र नियतको प्रतिफल ? प्रश्न गम्भीर छ ।

























