गृहपृष्ठ सवारी साधनबाट अवैध तरिकाले रकम असुली गर्दै उद्याेग वाणिज्य संघ म्याग्दी
सवारी साधनबाट अवैध तरिकाले रकम असुली गर्दै उद्याेग वाणिज्य संघ म्याग्दी
म्याग्दी भित्रिने सवारीसाधनबाट अवैधरूपमा रकम असुल भएको छ । म्याग्दी उद्योग वाणिज्य संघले गरेको कानुनविपरीत रकम संकलनका विषयमा स्थानीय प्रशासनले छानबिन थालेको छ ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले उजुरी परेपछि सवारीसाधनबाट गरिएको अवैध असुलीका विषयमा छानबिन थालिएको बताए । 'अवैधरूपमा सवारीसाधनबाट रकम असुल्ने गरेको उजुरी परेपछि छानबिन थालिएको हो', उनले भने, 'रकम संकलन गर्ने म्याग्दी उद्योग वाणिज्य संघका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।'
प्रजिअ रानाका अनुसार सवारीबाट संकलित रकमको आम्दानी र खर्चको विवरण पेश गर्न म्याग्दी उद्योग वाणिज्य संघलाई पत्राचार गरिएको छ । सडकमा सवारीबाट कुनै पनि बाहनामा रकम संकलन गर्न नपाउने नियम छ । म्याग्दी उद्योग वाणिज्य संघले ‘सहयोग’का नाममा जिल्ला बाहिरबाट आउने ट्रक, ट्र्याक्टर, टिपर, जीपबाट रकम उठाउन कर्मचारी नै परिचालन गरेको छ ।
यातायात व्यवसायीले छतमा सामान राखेर ल्याउने यात्रुवाहक बसको पनि उद्योग वाणिज्य संघलाई शुल्क तिर्नुपरेको गुनासो गरेका छन् । प्रतिसवारी १०० देखि ५०० का दरले रकम संकलन गरेको उजुरीमा उल्लेख छ । संघले तिरेको रकम ढुवानी व्यवसायीले सम्बन्धित सामानका धनीबाट लिने गरेका थिए ।
जसको मार अप्रत्यक्षरूपमा उपभोक्तालाई पर्ने गरेको थियो । प्रजिअ रानाले सवारीसाधनबाट रकम उठाउने कार्य अवैध भएको बताए । रकम उठाउनुको कानुनी आधार, विधि, प्रक्रिया र संकलित रकम परिचालनका विषयमा उद्योग वाणिज्य संघप्रति प्रश्न उठेको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामकुमार राईले चन्दा संकलन गरेको रसिदको ठेलीसहित उद्योग वाणिज्य संघका कर्मचारी झलक खत्रीलाई नियन्त्रणमा लिएको बताए । 'छानबिन र कारबाहीका लागि प्रशासनको निर्देशनअनुसार नियन्त्रणमा लिएका थियौँ', उनले भने, 'बोलाएको समयमा उपस्थित हुने शर्तमा छाडिएको छ । थप अनुसन्धान जारी छ ।'
चन्दा उठाउने कार्यमा संलग्न कर्मचारीलाई यसअघि पक्राउ गरे पनि दबाबमा छाड्ने गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका महासचिव अमित बानियाँले संघको भवन बनाउँदा बैंकबाट लिएको ऋण तिर्नका लागि साधारणसभाको निर्णयानुसार साधारण सदस्यबाट सहयोग उठाउने गरिएको बताए ।
'संघका सदस्यबाट मात्रै स्वेच्छिकरूपमा सहयोग उठाइएको हो', उनले भने, 'आम्दानी र खर्चको विवरण स्पष्टसँग राखेका छौँ । प्रशासनमा बुझाउँछौँ । ऋण तिर्नुपर्ने बाध्यताका कारण सहयोग उठाउनुपरेको हो । दुरुपयोग भएको छैन ।'
प्रकाशित समय : १३:५५ बजे




















