गणेशमान स्मृति उद्यान निर्माणका लागि थप एक करोड सहयोग
वि.सं.२०७८ माघ ८ शनिवार २३:२६
shares

काठमाडौं महानगरपालिकाले गणेशमान स्मृति उद्यान निर्माणका लागि नागार्जुन नगरपालिकालाई थप एक करोड उपलब्ध गराउने भएको छ । नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले नागार्जुन नगरपालिका-६ डाँडा पौवामा निर्माणाधिन सो उद्यानका लागि थप रु एक करोड उपलब्ध गराउने भएको हो ।
कामपाले उक्त उद्यान निर्माणका लागि यसअघि नै एक करोड प्रदान गरिसकेको छ । कामपाले एकीकृत विकास कार्यक्रम सञ्चालन गरी उपत्यकालाई समृद्ध सहरका रुपमा विकास गर्न काठमाडौं उपत्यकाका सबै नगरलाई उद्यान निर्माण तथा हरियाली प्रवर्धन कार्यक्रममा सहयोग गर्दै आएको छ ।
महानगरको सहयोगमा काठमाडौं उपत्यकाका १० नगरमध्ये आठ वटामा उद्यान तथा हरियाली प्रवर्धनका लागि र दुई वटामा धाम निर्माणका लागि काम गरिरहेका छन् ।
यसअघि नै भएको सम्झौताअनुसार किर्तिपुर नगरपालिका-१, २ र १० क्षेत्र समेट्ने गरी युद्ध स्मारक उद्यान निर्माण गरिरहेको छ । कामपाबाट प्राप्त सहयोगबाट शङ्खरापुर नगरपालिकाले वडा नम्बर ९ बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान निर्माण गर्दैछ ।
त्यसैगरी कामपाकै आर्थिक सहयोगमा कागेश्वरी मनोहरा नगरपालिका-१ स्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटेर प्रसिद्ध कागेश्वरी धाम निर्माण गरिरहेको छ । गोकर्णेश्वर नगरपालिकाले वडा नम्बर ९ जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यान क्षेत्रभित्र गोकर्णेश्वर उद्यान निर्माण गर्दैछ ।
त्यस्तै बूढानीलकण्ठ नगरपालिकाद्वारा वडा नम्बर ८ हात्तीगौडामा निर्माणाधिन बूढानीलकण्ठ उद्यानका लागि पनि कामपाले सहयोग गरेको छ । टोखा नगरपालिका-१ बौडेश्वर महादेव क्षेत्रको गुरुयोजनाभित्र समेटिएको बालउद्यान निर्माणमा कामपाको सहयोग छ ।

























