साफ यु-१९ च्याम्पियनसिप : नेपालकाे फाइनल यात्रा ‘करिब समाप्त’
वि.सं.२०७८ पुस ५ सोमवार ००:५०
shares

बंगलादेशमा जारी साफ यु-१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । बंगलादेशका ढाकामा आज भएको खेलमा भारतसँग नेपाल १-० गोलअन्तरले पराजित भएको हो । याे नजितासँगै नेपालकाे फाइनल यात्रा करिब समाप्त भएकाे छ ।
जितसँगै भारत भने प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतको जितमा प्रियंका देवीले गोल गरिन् । उनले खेलको ६७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो । यता पराजयसँगै नेपालको फाइनलमा प्रवेश गर्नेे सम्भावना अर्को खेलको नतिजालाई कुर्नुपर्ने भएको छ । फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग केवल बराबरीको आवश्कता रहेको थियो ।
अब नेपालले फाइनल प्रवेशका लागि बंगलादेश र श्रीलंकाबीच हुने खेलको नजिता पर्खनुपर्नेछ । बंगलादेशले श्रीलंकामाथि जित वा बराबरिकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ भने बंगलादेशले पराजय भोगे नेपाल फाइनलमा प्रवेश गर्ने सम्भावना रहनेछ । भारतले चारमध्ये तीन खेल जित्दै नौ अंक जोडेको छ भने समान खेल खेलेको नेपालले दुई खेलमा जित, एकमा बराबरी र एक खेल हारेको थियो । नेपालको सात अंक रहेको छ ।

























