आइसीसी महिला टी-ट्वान्टी विश्वकप छनोट : नेपालद्वारा कुवेत पराजित
वि.सं.२०७८ मंसिर ९ बिहीवार २१:२७
shares

आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई)को आइसीसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेकाे हाे । यसअघि भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।
त्यस्तै नेपाल पहिलो खेलमा भने हङकङसँग ६ विकेटले पराजित भएको थियो । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलव ३ ओभरमा केवल एक विकेट गुमाएर पूरा गर्याे । नेपालको जितमा इन्दु बर्माले १३ रन जोडिन् भने कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा २७ रन जोडेको थियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन-तीन विकेट हात पारे भने करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एक-एक विकेट लिए । कुवेत भने अघिल्ला दुवै खेलमा पराजित भएको थियो । कुवेत भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले पराजित भएको थियो । नेपालले अब भोलि मलेसियासँग खेल्नेछ ।

























