गृहपृष्ठ एमाले महाधिवेशन : प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने, प्रचण्ड पुग्लान् ?
एमाले महाधिवेशन : प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने, प्रचण्ड पुग्लान् ?
नेकपा एमालेको १०औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले शुक्रबार चितवनमा महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११:४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्नेछन् । देउवा हेलिकोप्टरबाट चितवन पुग्ने कार्यक्रम रहेको छ । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १:१५ बजे फर्किने देउवाको सचिवालयले जनाएको छ ।
एमालेको महाधिवेशनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कार्यक्रममा पुग्ने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी तामाङको भनाई छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने भने टुंगाे लागेकाे छैन । अन्य राजनीतिक दलका नेतासमेत एमालेको महाधिवेशनमा पुग्नेछन् । भर्खरै एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भने एमालेले निम्ताे दिएकाे छैन । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत चितवन पुग्ने एमालेले जनाएको छ । एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ ।
महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदैछ ।
प्रकाशित समय : १५:४४ बजे

















