गृहपृष्ठ छिन्नमस्तामा ८० वर्षीय वृद्धको हत्या, शव राजविराज ल्याइयो
छिन्नमस्तामा ८० वर्षीय वृद्धको हत्या, शव राजविराज ल्याइयो
छिन्नमस्ता गाउँपालिका-६, खुदीबखारीमा ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ । खुदीबखारीस्थित एक फुलबारीमा धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ ।
आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र आज परीक्षण हुने जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले बताएका छन् । छिन्नमस्ता-६, खुदीबखारीमा रहेको छिन्नमस्ता सडकखण्डको झौखराही नामक फूलबारीमा बुधबार अपराह्न शव फेला परेको थियो । घाँटी रेटिएको अवस्थामा शव फेला परेपछि डीएसपी काफ्ले नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले धारिलो हतियार प्रहार गरी घाँटी रेटेको देखिएको जनाएको छ । अन्य विवरण अहिलेसम्म केही खुलेको छैन ।
हत्या प्रकरणको सूक्ष्म अनुसन्धान भइरहेको जनाउँदै आवश्यक परे प्राविधिक सहितको विज्ञ टोली मगाइने डीएसपी काफ्लेले बताए ।
प्रकाशित समय : १५:५३ बजे



















