गृहपृष्ठ हेलम्बु आगलागी पीडितलाई पूर्वमन्त्री दुलालद्वारा राहत वितरण
हेलम्बु आगलागी पीडितलाई पूर्वमन्त्री दुलालद्वारा राहत वितरण
हेलम्बु गाउँपालिका इचोकमा भएको आगलागीपीडित तीन परिवारलाई राहत वितरण गरिएको छ । बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य युवराज दुलाल, वाइसीएल जिल्ला इन्चार्ज सुरेश राना, माओवादी २ नं क्षेत्रीय अध्यक्ष भरत थापा, हेलम्बु अध्यक्ष पेमा ह्योल्मो, जिल्ला कमिटी सदस्य सिपी दुलाल, हेलम्बु–५ का अध्यक्ष मिङमार तामाङ लगायतको टोली मंगलबार घटनास्थल पुगेर राहत सामग्री वितरण गरेको हो ।
राहतमा प्रतिपरिवार १७ हजार रुपैयाँ, तीन बण्डल जस्तापाता, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडालगायत ५६ हजार रुपैयाँको सामग्री वितरण गरिएको जिल्ला कमिटी सदस्य सिपी दुलालले जानकारी दिए । सोमबार साँझ इचोक सुर्सिङ झाँक्रीटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको थियो ।
सञ्च तामाङको गोठमा आगलागी हुँदा मृत्यु हुनेहरुमा सञ्च तामाङका छोरा छ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र साइला तामाङका पाँच वर्षीय छोरा दिलबहादुर तामाङ रहेका छन् । पीडामा रहेका पीडितका लागि केही सामग्री वितरण गरेको भन्दै पूर्वमन्त्री दुलालले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । दुलालको सहयोगपछि पीडित परिवारले आभार प्रकट गरेका छन् ।
प्रकाशित समय : १२:४१ बजे


















