गृहपृष्ठ हस्तकला मेला : १ लाखले गरे अवलाेकन, ८ करोडको कारोबार
हस्तकला मेला : १ लाखले गरे अवलाेकन, ८ करोडको कारोबार
१८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघद्वारा काठमाडौँको ह्यात होटेलमा आयोजित तीन दिनसम्म चलेको मेलामा करिब रु आठ करोडको कारोबार भएको हो ।
कार्यक्रमको समापनमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाली हस्तकलाको विदेशमा राम्रो माग भएको भन्दै हस्तकला क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकार लाग्ने बताए । उनले नेपालको अर्थतन्त्रमा हस्तकला क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठ’ले यस्ता मेलाले नेपाली हस्तकलाको प्रवर्द्धनमा सहयोग पुग्ने बताउँदै हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरिन् ।
महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले निर्यात व्यापार र रोजगारी सिर्जनाका साथै देशको कलासंस्कृतिको संरक्षण सम्वर्द्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए । महासंघका उपाध्यक्ष एवं मेलाका संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको बताए । उनका अनुसार पहिलो दिन शुक्रबार २३ हजार, दास्रो दिन ५५ हजारले मेला अवलोकन गरेका थिए ।
सो अवसरमा १६औँ कला प्रतियोगिताका विजेताहरुलाई नगदसहित पुरस्कृतसमेत गरिएको थियो । नेचुरल फाइवरतर्फ दाङकी सुनिताकुमारी चौधरी प्रथम, पुनम महर्जन द्वितीय र आशा माया महर्जन तृतीय भइन् । यस्तै, परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितीय र राम बज्राचार्य तृतीय भएका थिए । प्रथम द्धितिय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
मेलामा विभिन्न हस्तकला विधाका १२० भन्दा बढी स्टल रहेका थिए । मेलाका मुख्य आकर्षणमा एउटै छानामुनि हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, समय सापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरुप वस्तुको प्रदर्शनी रहेका थिए । मेलाकाे अवसरमा ७० वर्ष नाघेका ज्येष्ठ कलाकारलाई सम्मान समेत गरिएको थियो ।
प्रकाशित समय : १४:२३ बजे


















