global ime bank Long Banner Ad

गृहपृष्ठ पहिराले पुरिएको सिद्धिनहर मर्मत नहुँदा सयौं हेक्टर सिँचाइबिहीन

पहिराले पुरिएको सिद्धिनहर मर्मत नहुँदा सयौं हेक्टर सिँचाइबिहीन

पहिराले पुरिएको सिद्धिनहर मर्मत नहुँदा सयौं हेक्टर सिँचाइबिहीन

एक वर्षअघि पहिरोले पुरिएको बाहुनडाँगीस्थित सिद्धिनहरको मर्मत नहुँदा एक हजार ७०० हेक्टर खेतीयोग्य जमिन सिँचाइबिहीन बनेको छ । मेचीनगर नगरपालिका–१, २, ३ र ४ को एक हजार ७०० हेक्टर जमिन सिँचाइ गर्ने सिद्धिनहर पहिरोले गत वर्ष बगाएको थियो । यो वर्षको कात्तिकमा आएको बेमौसमी वर्षाले थप ५० मिटर नहर भासिएपछि समस्या झन् बढेको छ ।

झापाको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने यो नहर इलामको रोङ गाउँपालिका-६ स्थित अम्बे डाँडाको फेदीबाट सुरु हुन्छ । पहाडको अकरिलो स्थान हुँदै मुहान थापेर ल्याइएको नहर सोही वडाको गाईमारा खोला छेउमा पहिराले क्षति पुर्‍याएको थियो ।

मर्मतसम्भार गर्ने बजेट अभावमा किसानहरु सिँचाइ सुविधाबाट वञ्चित हुनुपरेको र बजेट निकासाका लागि सम्बन्धित निकायमा बारम्बार पहल गर्दासमेत सुनुवाइ हुन नसकेको सिद्धिखोला सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले गुनासो व्यक्त गरे । नेपाल सरकारका तत्कालीन मुख्य सचिव डा. भोजराज घिमिरेको पहलमा २०७२ सालमा नहर सञ्चालनमा आएपछि सो क्षेत्रका किसान लाभान्वित बनेका थिए । नेपाल सरकारले सो नहर स्थापनामा ४४ करोड रूपैयाँ लगानी गरेको थियो ।

पटक पटक मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य र संघीय सांसदलाई समेत सो क्षेत्रको निरीक्षण गराई बजेटका लागि पहल गरिदिन आग्रह गरेको उनले बताए । यद्यपि कतैबाट पनि बजेट उपलब्ध नहुँदा नहर प्रयोजनबिहीन बनेको उनको गुनासो छ । उपल्लो मेचीनगरका बाहुनडाँगीवासी किसानले जंगली हात्तीबाट अन्नबाली जोगाउनका लागि चिया, सुपारीलगायतको वैकल्पिक नगदेबालीको खेती गर्दै आएका छन् । यतिबेला सुपारी, चिया, जैघाँस, तोरीलगायतका बालीलाई पानी चाहिन्छ ।

राज्यको ठूलो लगानीमा निर्माण भएको सिद्धिनहर बिग्रिएको र वैकल्पिक व्यवस्थासमेत नहुँदा समस्या उत्पन्न भएको स्थानीय किसान रमा भण्डारीले बताए । उनले छिटो नहरको मर्मत गरिनुपर्ने किसानको माग रहेको बताए । (रासस)

प्रकाशित समय : ००:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु