गृहपृष्ठ आत्मदाह घटनालाई जरिवानासँग जोडिएको प्रचार भ्रामक स्ट्राफिक प्रहरी
आत्मदाह घटनालाई जरिवानासँग जोडिएको प्रचार भ्रामक स्ट्राफिक प्रहरी
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनालाई ट्राफिक जरिवानासँग जोडेर गरिएको प्रचार तथ्यहीन र भ्रामक भएको जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय रामशाहपथले प्रेस विज्ञप्ति जारी गर्दै असार २५ गते राहदानी विभाग अगाडि मुगु जिल्ला सोरु गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनामा ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको हो ।
विज्ञप्तिमा घटनाका क्रममा ट्राफिक प्रहरीले नेपालीलाई कुनै पनि प्रकारको जरिवाना नगरेको र ट्राफिक कारबाहीका कारण आत्मदाहको प्रयास गरेको भन्ने विवरण पूर्ण रूपमा गलत रहेको उल्लेख गरिएको छ ।
‘घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक छानबिनका क्रममा ट्राफिक प्रहरीद्वारा निजलाई कुनै पनि प्रकारको जरिवाना नगरिएको र ट्राफिक कारबाहीसँग यस घटनाको कुनै सम्बन्ध नरहेको तथ्य स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रहरीले घटनाको वास्तविक कारणबारे सम्बन्धित अनुसन्धान अधिकारीमार्फत कानुनी अनुसन्धान भइरहेको जनाएको छ । आधिकारिक पुष्टि नभएका विषयलाई सुरक्षा निकायसँग जोडेर प्रचार गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने भन्दै प्रहरीले त्यस्ता सामग्रीप्रति सचेत रहन आग्रह गरेको छ ।
ट्राफिक प्रहरीले अनुसन्धानबाट वस्तुगत निष्कर्ष नआएसम्म कपोलकल्पित तथा भ्रम फैलाउने खालका समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रकाशित समय : १०:२८ बजे



















