global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राष्ट्रपति आउने भएपछि उत्साहित बनेको मटिहानी

राष्ट्रपति आउने भएपछि उत्साहित बनेको मटिहानी

राष्ट्रपति आउने भएपछि उत्साहित बनेको मटिहानी

मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीको मटिहानी नगर अहिले उत्सवमय देखिँदो छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख आउने कार्यक्रमलाई मटिहानीवासीले उत्सवको रुप दिएका छन् । भोलि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रंशाला समुद्घाटन गर्न आउने कुराले नगरवासीमा उत्साह छाएको हो । राष्ट्रपतिको मटिहानी भ्रमण कार्यक्रमको राष्ट्रपति कार्यालयले पनि पुष्टि गरेको छ ।

यतिखेर मटिहानीका मुख्य चोकबजार केन्द्रमा राष्ट्रपतिका पूर्ण कदका तस्वीर टाँगिएका छ । ‘महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई धार्मिक नगरी मटिहानीमा हार्दिक स्वागत छ’ लेखिएका स्वागतद्वारले सबैतिर झकिझकाउ भएको छ । आफ्नै ठाउँमा आफ्नै राष्ट्रप्रमुखको स्वागतको अवसर आफैँमा पर्व र उत्सव हुने मटिहानीवासी बताउँछन् ।

‘हाम्रो ठाउँले त्रेतायुगदेखि नै धार्मिक महत्व बोक्दै आएको छ, यसबाहेक संस्कृत शिक्षाको त यो पुरानो केन्द्र नै हो’, मटिहानी–८ का बासिन्दा पुराना राजनीतिक, सामाजिक अगुवा वृजनारायण लाल कर्ण भन्छन्, 'पछिल्लो कालमा हाम्रो पुरानो पहिचान उजागर गर्ने प्रयत्न बढेका छन्, राष्ट्रप्रमुखले यो प्रयत्न अवलोकन गर्ने अवसर बन्दैछ, हामी खुशी छौँ ।' आफुहरूका लागि राष्ट्रपतिको आगमन महत्वपूर्ण अवसर र पर्व नै हुने कर्ण बताउँछन् ।

महोत्तरीको मटिहानीअघि त्रेतायुगमा राम–सीताको विवाहमा वेदि (यज्ञस्थल) निर्माण गर्न माटो खनिएको ठाउँका रूपमा विश्वास गरिन्छ । वेदिका लागि माटो खनिएको मानिँदै आइएको लक्ष्मीसागर (तलाउ) मिथिला क्षेत्रकै पवित्रस्थलका रुपमा अझै पूज्य रहेको पाका मैथिल बताउँछन् । यसबाहेक मटिहानीस्थित श्री लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर नेपाल र भारतका मठ परम्परामा पूज्यनीयस्थल रहँदै आएका मटिहानीस्थित राम माध्यमिक विद्यालय (लक्ष्मीनारायण मठले स्थापना गरेको) का अवकाशप्राप्त प्रधानाध्यापक चन्देश्वर साह बताउँछन् ।

भ्रमण क्रममा राष्ट्रपति भण्डारीले यी महत्वपूर्ण धरोहरको अवलोकन  गर्ने मटिहानी नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित समय : १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु