गृहपृष्ठ एमसीसी अनुमोदन गर्न मतदान प्रक्रियामा जाने प्रचण्डको तयारी
एमसीसी अनुमोदन गर्न मतदान प्रक्रियामा जाने प्रचण्डको तयारी
साढे २ बर्षदेखि प्रतिनिधिसभामा विचाराधीन रहेको अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि संसदमा मतदान गर्ने तयारी गरिएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' एमसीसी सम्झौतालाई संसदको मतदान प्रक्रियामा लगेर टुंग्याउन अघि बढेका हुन् ।
सम्भवतः सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेससमेत तयार भए कांग्रेसको १४औं महाधिवेशनपछि बस्ने संसद् बैठकमा मतदान हुने माओवादी केन्द्रका एक नेताले बताए । ३० असार २०७६ मा संसद सचिवालयमा दर्ता भएको यो सम्झौता संसदीय अनुमोदनमा लागि भन्दै पछिल्लो पटक थपेको म्याद मंसिर २८ (डिसेम्बर १४) मा सकिँदैछ ।
एमसीसीलाई नेपालमा अनुमोदन गराउन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू अहिले नेपालमा छन् । प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटेर एमसीसीबारे छिटो निर्णय लिन उनले दबाब दिइरहेका छन् । यसअघि पनि भदौमा नेपाल आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपालका लागि यो अन्तिम मौका हो भनेर दलहरुलाई सचेत गराएकी थिइन् । तर सत्ता गठबन्धनकै दलहरुबीच एमसीसीका विषयमा ठोस कुरा बाहिर आएको छैन ।
पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसबारे सहमति खोज्न समय चाहिएको भन्दै एमसीसीलाई पत्रसमेत लेखेका थिए । सम्झौताको म्याद सकिने अवधि नजिकिँदै जाँदा अमेरिकाले निर्णय लिन नेपालमाथि दबाब बढाएको हाे । प्रचण्डले शुक्रबारमात्रै सहायक विदेशमन्त्री लूलेसँगको भेटमा एमसीसी जस्तो सहयोग लिन अपरिहार्य भएको तर त्यसमा रहेका केही विवादित विषयमा विचार गर्नुपर्ने बताएका थिए ।
प्रकाशित समय : १४:३८ बजे




















