global ime bank Long Banner Ad

गृहपृष्ठ दूधकोसीमा सुक्खा पहिरो

दूधकोसीमा सुक्खा पहिरो

दूधकोसीमा सुक्खा पहिरो

दूधकोसी नदी किनारमा सुक्खा पहिरो झरेको छ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-३ मा पर्ने दूधकोसी नदी किनारमा करिब दुई सातादेखि सुक्खा पहिरो झरेको हो ।

दूधकोसी करिडोर सडकको चुने भन्ने ठाउँ नजिकै सुरु भएको सुक्खा पहिरो करिब २० दिनदेखि झरेको उँबुका स्थानीयवासी हर्कबहादुर राईले बताए । उनका अनुसार दसैँमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु भएको थियो । सो पहिरो हालसम्म अनुमानित २५० मिटरभन्दा अग्लो भएर झरिसकेको छ । एक साताअघिसम्म भीषणरूपमा झरेको पहिरो अहिले केही रोकिएको छ । तर, सानो परिमाणमा झर्ने क्रम रोकिएको छैन । पहिराबाट झरेको ढुंगा, माटो सिधै दूधकोसीमा खसेका कारण नदीमा पानीको बहावसमेत केही मात्रामा रोकिएको छ । दूधकोसी करिडोरअन्तर्गत जयरामघाट-मोली सडक खनेकै ठाउँबाट पहिरो झर्न सुरु गरेको थियो । बेलाबेलामा ठूलो मात्रामा पहिरो खस्दा त्यसको धुलो उँबुको तल्लो भेग फकुलगाउँसम्म आइपुग्ने गरेको छ ।

पहिराका कारण मानेभन्ज्याङ गाउँपालिका(६ मा पर्ने रिब्दोम गाउँको करिब १२ घर जोखिममा छन् । त्यसैगरी सोदु कुरुब्वामलुङ गाउँका स्थानीयवासी र विद्यार्थी विद्यालय जाने, अर्को गाउँ जाने बाटो नै बन्द भएको छ । खचापुलगायतका गाउँलेहरू जयरामघाट बजार जान एक घण्टाभन्दा बढी समय घुमेर पहिराको शीरबाट जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य भएका छन् ।पहिराबाट झरेको ढुंगा, माटोले दूधकोसी नदीको करिब २० प्रतिशत बहाव रोकेको जयरामघाटका स्थानीय मिलन राईले बताए । पानीको बहाव छेकेपछि नदीको पानी खोटाङको हलेसी तुवाचुङ नगरपालिकातर्फ पर्ने जंगल पसेर बग्न थालेको छ । यो ठाउँमा पहिले पहिरो खासै नभएकाले सडक खनेकै कारण पहिरो सुरु भएको अनुमान गरिएको छ ।

प्रकाशित समय : २१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु