गृहपृष्ठ दश बुँदे कार्यान्वयनमा समस्या छैन : महासचिव पोखरेल
दश बुँदे कार्यान्वयनमा समस्या छैन : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताए ।
'१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ,' उनले भने, 'कहीकतै समस्या भए त्यसलाई पार्टीले समाधान गर्छ ।' महाधिवेशनमा आफ्नो उम्मेदवारीको विषयमा टुंगो लागि नसकेको महासचिव पोखरेलले बताए । वरिष्ठ उपाध्यक्षमा तपाईको उम्मेदवारी हो भन्ने पत्रकारको जिज्ञासामा उनले भने, 'सल्लाह हुन बाँकी नै छ ।' नेकपा एमालेको १०औँ महाधिवेशनको तयारीको अवस्था बुझ्न पोखरेलसँगै महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा, सह-संयोजक सुरेन्द्र पाण्डे, पार्टीका उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य विष्णु रिमाल, शंकर पोखरेल, योगेश भट्टराई र प्रदीप ज्ञवाली आएका छन् ।
यसैगरी विदेश विभाग प्रमुख राजन भट्टराई, केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ पनि आज चितवन आएका छन् । उनीहरुले महाधिवेशनको उद्घाटन सत्र हुने भनिएको नारायणी नदी किनारको स्थलगत रुपमा अवलोकन गरी आवश्यक जानकारी लिए । बन्द सत्र गर्न लागिएको सौराहाको बाघमारा चौरसहितका अन्य क्षेत्रको पनि आज अवलोकन गरी छलफल गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष पार्वती रावलले बताइन् । उद्घाटन सत्रमा देशैभरबाट नेता कार्यकर्ता ल्याउने पार्टीको योजना छ । बन्द सत्रमा दुई हजारको हाराहारी सदस्य रहनेछन् । नेकपा एमालेको आगामी मंसिर १० देखि १२ गते सम्म महाधिवेशन हुँदैछ ।
प्रकाशित समय : २१:१७ बजे


















