गृहपृष्ठ समाज सुधारक महागुरु फाल्गुनन्दको १३७औँ जयन्ती
समाज सुधारक महागुरु फाल्गुनन्दको १३७औँ जयन्ती
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । १९४२ साल कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।
किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन २००५ सालमा भएको थियो । किरात समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मसिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको योगदानको कदर गर्दै किराती समुदायको बसोवास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोवास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।
राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किरात ज्योतिष संघका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए ।
प्रकाशित समय : १४:५६ बजे



















