काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जहाज थपेर गन्तव्य विस्तार गर्दै यती एयरलाइन्स

9.83K
shares

आफ्नो स्थापनाको २३ वर्ष पूरा गरेको ठूलो हवाई सञ्जाल भएको प्रतिस्पर्धी वायुसेवा कम्पनी यती एयरलाइन्सले जहाज थपेर नयाँ गन्तव्य विस्तार गर्ने रणनीतिका साथ अघि बढेको छ । सन् १९९८ सेप्टेम्बर २१ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ ।

२४ वर्ष प्रवेशसँगै यतीले जेट स्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसँग रहेको पाँच वटा विमान बिक्री गरेको छ । नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यतीले आफ्नो भगिनी संस्था तारा एयरसहित सेवा प्रदान गर्दै आएको कम्पनीले दाबी गरेको छ । स्थापनाको सुरुआती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधि, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालले जानकारी दिए । 'पाइलट, चालक दल, दक्ष प्राविधिक, तालिम प्राप्त कर्मचारी, साझेदार संघसंस्थाको इमान्दारी तथा यात्रुको विश्वासले हामी सफल भएका छौँ,' सीइओ रिमालले भने ।

कल सेन्टरको शुभारम्भ

एयरलाइन्सले वार्षिकोत्सवको अवसरमा ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टर बढाउँदै आजबाट कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ । कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडानसम्बन्धी जानकारी लिन सकिने र उडानसम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यती एयलाइन्सले जनाएको छ । एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडा दर, झन्झट रहित यात्रा, गुणस्तरीय सेवा र यात्रुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेको कारण यती एयरलाइन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाइँमा परेको दावी गरे । 'बिरामी, अपांगता वा फरक क्षमता भएका यात्रु, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखेर सेवा दिएका छौँ,' उनले भने । यतीले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न निकायको सहकार्यमा सगरमाथा सफाइ अभियानमार्फत् सगरमाथालगायत खुम्बु क्षेत्रबाट हालसम्म करिब १०० टन फोहर ल्याइसकेको छ । यस्तै, विभिन्न जिल्लामा दुईलाख ७२ हजार ६०० वटा बिरुवा वृक्षरोपण गरिसकेको छ । हवाई र पर्यटनमा मात्र नभइ क्रिकेट, फुटबल र गल्फलगायतका खेलकूदका क्षेत्रमा पनि योगदान रहेको जनाइएको छ ।

आगामी वर्षमा वायुयानको संख्या थपेर नयाँ गन्तव्यमा उडान विस्तार तथा बजार हिस्सा बढाउने कम्पनीको योजना छ । थप रोजगारी सिर्जना गर्ने, चार्टर उडानमार्फत् अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्ने, नयाँ प्रविधि प्रयोगमा ल्याई सेवा परिष्कृत गर्दै थप गुणस्तरीय बनाउने र यात्रुलाई प्रत्यक्ष लाभ हुने सहुलियतका कार्यक्रम ल्याउने तथा सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।

यतीले हाल पाँचवटा एटिआर विमानमार्फत् नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनी संस्था तारा एअरको ४ वटा ‘ट्वीन–अटर’ विमानमार्फत् दुर्गम हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।