नमस्ते पे मोबाइल भुक्तानी सेवाको व्यावसायिक सञ्चालन
वि.सं.२०७८ भदौ ३० बुधवार २२:३०
shares

मोबाइल वित्तीय सेवामार्फत् वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्याउने उद्देश्यले २०७६ वैशाख १९ गते नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकबीच भएको औपचारिक समझदारीको फलस्वरूप २०७७ श्रावण १३ मा विधिवत रुपमा स्थापित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडमार्फत् प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन यही २९ भाद्र २०७८ गते एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
सो कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्याल, राष्ट्रिय बाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकम तथा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख तथा सञ्चालक समितिका सदस्य तथा उच्चपदस्थ पदाधिकारीहरु, नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका अध्यक्ष राजेन्द्र अर्याललगायत सञ्चालकहरू, डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्ने संस्थाहरूका प्रतिनिधिहरू लगायतको उपस्थितिमा सञ्चालित सो कार्यक्रममा नमस्ते पे वालेट सेवाको लोगो अनावरण, एण्ड्रोइड मोबाइल एप अनावरण तथा ५०० शर्टकोड युएसएसडीबाट सो सेवा प्रयोग समेतको सुरुवात गरिएको थियो ।
कोभिड महामारीको कारण सेवा सञ्चालनको लागि खरिद गरिएको उपकरण आपूर्तिमा भएको ढिलाई एवं सिस्टमको विकास र परीक्षणमा संलग्न जनशक्तिलाई पारेको अप्रत्याशित प्रतिकुल प्रभावको कारण सेवाको व्यावसायिक सञ्चालन सुरु गर्न केही ढिलाई भएको भएता पनि यस कम्पनीका सम्पूर्ण कर्मचारी एवं अन्य संलग्न सरोकारवालाहरूको अथक मेहनतको फलस्वरुप प्रथम चरणको सेवा कम्पनी स्थापना भएको लगभग १३ महिनाको अवधिमा सञ्चालनमा आएको छ ।
मोबाइल सेट बजारको ९५ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने एण्ड्रोइड सिस्टमको मोबाइल एप यस चरणमा उपलब्ध हुनेछ। आइओएसको लागि केही औपचारिक तयारी बाँकी भएकोले सो सिस्टमका मोबाइलको लागि पनि सेवा यथासिघ्र सञ्चालनमा ल्याइनेछ । स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी यूएसएसडी प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको शुभारम्भ गरिएको छ ।
हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि *500# डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यस सेवालाई पनि क्रमशः थप विविधिकरण गर्दै लगिनेछ । यस प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् । यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक सहित करीब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ । बाँकी बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिनेछ । बैंकहरूको अलावा यस कम्पनीको देशव्यापी एजेण्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथासिघ्र सुरु गरिनेछ । यसको लागि एजेण्ट नेटवर्क तयार गर्ने कार्य भैरहेको छ ।
नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा हो र विभिन्न सञ्चार माध्यम र खासगरी अनलाईन मिडियामा पटक पटक प्रकाशित भए जस्तो नेपाल टेलिकमको मोबाइल ब्यालेन्सलाई नै पैसाको रूपमा उपयोग गर्न सकिने भने हुँदैन । नमस्ते पे वालेटमा बैंक वा एजेण्ट नेटवर्क मार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानिको लागि प्रयोग गर्न सकिन्छ । मोबाइल वित्तीय सेवाको लागि वैंक, मर्चेण्ट, युटिलिटि सेवा प्रदायक, अनलाइन व्यवसाय सञ्चालक लगायतका विविध साझेदार र सरोकारवालाहरूसँग व्यावसायिक, वित्तीय सहकार्य तथा प्राविधिक अन्तरआवद्धताको विकास एवं परीक्षणसमेत गर्नुपर्ने भएकोले सम्भावित सवै किसिमका सेवाहरू एकै पटक सञ्चालन गर्न चुनौतिपूर्ण हुने र बढी समय लाग्ने हुन्छ ।
साथै प्रारम्भिक चरणमा थोरै सेवासहित सञ्चालन गर्दा सुरुमा आउन सक्ने समस्याहरूको पहिचान र निराकरण गर्नसमेत थप सहज हुने हुन्छ । यसर्थ पनि कम्पनीले चरणवद्ध रूपमा सेवाहरू थप्दै र विविधिकरण गर्दै जाने रणनीति अंगिकार गरेको छ । सेवाको प्रारम्भिक सञ्चालन पश्चात् देखिने समस्याहरूको पहिचान र दीगो समाधान गर्न तथा क्रमिक रूपमा सेवाहरू थप गर्दै समग्र नमस्ते पे सेवालाई थप ग्राहकमुखी र उपयोगी बनाउँदै लैजान कम्पनी प्रतिवद्ध छ । बिगत डेढ वर्षभन्दा बढी समयदेखि विश्वभर जनस्वास्थ्यको सर्वाधिक ठूलो चुनौतिको रूपमा रहेको कोभिड-१९ महामारी तथा सोको कारणले गर्दा जनजीवन प्रभावित भएको सन्दर्भमा डिजिटल वित्तीय सेवाको उपादेयता थप टडकारो रूपमा देखिएको छ ।
दैनिक उपयोगका सेवाहरूको महसुल, शिक्षा स्वास्थ्यसम्बन्धी खर्च, सरसामानको खरिदारी तथा सरकारी सेवाहरू र करसम्बन्धी दायित्वको भुक्तानी समेतका आर्थिक गतिविधिहरु विद्युतीय माध्यमबाट गर्न सकेमा उल्लेख्य सहजताका साथै कारोबारको हिसाब किताबको अभिलेख राख्न, पारदर्शिता सुनिश्चित गर्न तथा चुहावट कम गर्नसमेत सघाउ पुग्ने देखिन्छ । यही बृहत्तर उद्देश्यका साथ यस कम्पनीले सेवा शुभारम्भ गर्न लागेको छ र क्रमशः सेवा सुविधाहरू थप गरी सो यथासिघ्र उद्देश्य प्राप्तिको लागि कम्पनी लागिपरेको छ ।
यसरी वृहत वित्तीय समावेशिकरण र वित्तीय सेवामा देशभर पहुँच पुर्याउने अभियानमा यस क्षेत्रमा वर्षौं अघिदेखि अगुवाको रूपमा लागि परेर विविध सेवा सुविधाहरूको विकास गरी डिजिटल वित्तीय कारोबारको बजार तयार गर्न महत्वपूर्ण भूमिका खेलेका अन्य सेवा प्रदायक तथा सरोकारवालाहरूसँग आपसी हितमा सघन सहकार्य र साझेदारी गर्दै मुलुकभर अत्याधुनिक प्रविधिमा आधारी विद्युतीय भुक्तानी सेवाको सहज र सुरक्षित उपलब्धता सुनिश्चित गर्न कम्पनी प्रतिवद्ध रहेको छ ।

























