काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तनहुँमा जनगणनाका लागि १३० सुपरीवेक्षक परिचालन

16.17K
shares

राष्ट्रिय जनगणना-२०७८ का लागि तनहुँमा १३० सुपरीवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु भएको जनगणनाका लागि जिल्लामा उक्त संख्यामा सुपरीवेक्षक परिचालन गरिएको हो । सरकारले राष्ट्रिय जनगणना-२०७८ का कार्यक्रम यही भदौ ३० गतेदेखि आगामी मंसिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । सोही बमोजिम सबै सुपरीवेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिए । 'पहिलो चरणको कार्यतालिका बमोजिम सबै सुपरीवेक्षकलाई तालिम दिएर फिल्डमा खटाएका छौ,' उनले भने ।

सुपरीवेक्षकहरुले आगामी असोज १८ गतेभित्र घरपरिवारको सूचीकरण कार्य गर्नेछन् । यस अवधिमा सुपरीवेक्षकले घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या भर्नेछन् । 'गणकको कार्यविभाजन र मूल गणनाका लागि यो महत्वपूर्ण छ,' उनले भने, 'समयभित्रै सुपरिवेक्षकले यो काम सम्पन्न गर्नुहुन्छ ।' जिल्लामा गणक भने छनौट भइसकेका छैनन् । पहिलो चरणको कार्य सकिएपछि गणकको छनौट प्रक्रिया हुने जिल्ला जनगणना अधिकारी सापकोटाको भनाइ छ । गणक छनौट गरेर उनीहरुलाई आगामी कात्तिक १३ देखि १६ सम्म तालिम सञ्चालन गरिनेछ । 

जिल्लामा तथ्यांक संकलन दुई चरणमा सञ्चालन गरिनेछ । पहिलो चरणमा यही भदौ ३० देखि आगामी असोज १८ र दोस्रो चरणमा आगामी कात्तिक २५ देखि मंसिर ९ सम्म सञ्चालन हुन्छ । दोस्रो चरण मूल गणना गर्ने कार्य हो । दोस्रो चरणमा गणकहरुमार्फत् प्रत्येक घर परिवारमा पुगी प्रश्नावलीमार्फत् पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइलगायत विवरणहरु संकलन गरिनेछ । दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत् वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद् सम्बन्धी विवरणहरु पनि संकलन गरिने छ । सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि संकलन हुनेछ ।

जनगणनाबाट वडास्तरसम्मको लैंगिक तथा समावेशी तथ्यांक प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रमहरु तर्जुमा गर्न तथा नीति र योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै बाटोघाटो, पुल, विद्यालय, उद्योगधन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिंचाई, खाद्यान्न आपूर्ति, बसोबासको व्यवस्था, विकास बजेटको बाँडफाँड, सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा र मानव विकास प्रक्रियामा पछाडी परेका समुदायको उत्थानका कार्यक्रमहरु सञ्चालन गर्न तथा संविधानको मौलिक हकलगायत अन्य हकहरुको कार्यान्वयन र मूल्यांकन गर्न आवश्यक तथ्यांक प्राप्त हुने हुँदा जनगणनाको महत्व रहेको छ ।