गृहपृष्ठ काठमाडौं उपत्यकाका विद्यालय खोल्ने निर्णय
काठमाडौं उपत्यकाका विद्यालय खोल्ने निर्णय
काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारीलगायत उपत्यकाका स्थानीय तहहरूबीच आज भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भएको/नभएको भनेर अनुगमन गर्नुपर्ने उनको भनाइ छ । केही नगरपालिकाहरूले भने यसअघि नै विद्यालय खोल्न थालिसकेका छन् । अब सबै स्थानीय तहमा एक रूपता ढंगबाट विद्यालय सञ्चालन गर्ने गरी आजको बैठकले निर्णय गरिएको उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन् । विद्यालय सञ्चालन गर्दा स्थानीय तहहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गर्नुपर्ने भनिएपछि सोबारे अन्तिम टुंगो गर्न आज बैठक बसेको हो ।
प्रकाशित समय : २२:३२ बजे


















