global ime bank Long Banner Ad

गृहपृष्ठ विद्यालयका लागि दलित समुदायको संघर्ष

विद्यालयका लागि दलित समुदायको संघर्ष

विद्यालयका लागि दलित समुदायको संघर्ष

सहरमा लाखौंको शिक्षा व्यापार गर्ने संस्थाहरु भए पनि ग्रामीण भेगमा भने सामान्य पठनपाठन गर्ने शैक्षिक संस्थाहरु पनि पाउन कठिन छ । नेपालको शिक्षा पद्धतीअनुसार नभए पनि शैक्षिक संस्थाले भने वर्गीयता छर्लंगै छुट्याएका छन् । त्यसैको उदाहरण हो, ग्वानी ।

बैतडीको सुर्नया गाउँपालिका-२ ग्वानीमा वर्षौंदेखि उपल्लो वर्गको चेपुवामा पर्दा कयौं बालबालिकाहरु लामो समयदेखि आधारभूत शिक्षाबाट नै बञ्चित भए । उपल्लो समुदायको दवदबाकै बीच दलित समुदायको अगुवाइमा गाउँमै आधारभूत विद्यालय सञ्चालन भएपछि भने बालबालिकाहरुले कखरा सिक्ने अवसर पाएका छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको जन्मभूमिसमेत रहेको सुर्नयामा साविकको बाशुलिङ गाबिस १, २ र ३ नम्बर वडा रहेको ग्वानीमा केही समयअघि विद्यालय नै थिएन । सुर्नया-२ का दलित अगुवा तथा हलियामुक्ति समाजका अध्यक्ष जयराम लुहार आफैं १४ वर्षको उमेरमा एक कक्षामा भर्ना भएका थिए ।

ब्रामण तथा ठकुरी समुदायको बीचमा बस्ने दलित समुदायका बालबालिकाले जातीय विभेदकै कारण नजिकै रहेको विद्यालयमा अध्ययन गर्नै पाएनन् । १४ वर्षको उमेरमा विद्यालय गएर १० कक्षासम्म अध्ययन गरेका जयराम अहिले अधिकारको पक्षमा लडिरहेका छन् । गाउँमा विद्यालय नहुँदा उनी आफैंले, परिवार तथा समुदायले भोगेको पीडा कहिल्यै बिर्सदैनन् । ‘गाउँमै विद्यालय सञ्चालन गर्ने मनसाय बनाएँ,’ उनी सम्झन्छन्, ‘गाउँका राजनीतिकर्मी, बुद्धिजिवीलाई छलफलका लागि आग्रह गरेँ तर, कसैबाट पनि सकारात्मक सुझाव पाएन ।’

जयरामलाई गाउँघरमा उपल्लो समुदाय कसैले पनि पत्याएनन् । ‘गाउँमा मलाई कसैले पनि पत्याएनन्,’ उनले भने, ‘अन्तमा मेरै दलित समुदायले मलाई पत्याए र विद्यालय स्थापना गर्न सफल भएँ ।’ विद्यालयका लागि स्थानीय दानसिहं महरले सुन्दरपुरमा जमिन उपलब्ध गराए । त्यसै जमिनमा संस्थाको सहयोगले सानो भवन बनाएर विद्यालय सुरु गरेको उनी बताउँछन् । ‘शिक्षिकालाई श्रमदानमा राखी बालबिकास कक्षा सञ्चालन गर्यौं,’ उनले भने, ‘२०७० सालमा यहाँको दलित समुदायसँगै गैरदलित समुदायले श्रमदान गर्दैै भवन बनायौं र बालबिकास कक्षा सञ्चालन गर्‍यौं ।’ अहिले डाँडाबाग आधारभूत विद्यालयको नामले कक्षा ५ सम्मको पढाई भइरहेको जयरामले बताए ।

अहिले जयराम सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् । १४/१५ वर्ष उमेर पुगेपछि विद्यालयको पहुँचमा पुग्ने र २/४ वर्षको अध्ययनपछि रोजगारीका लागि भारत पलायन हुने परिपाटी यहाँ निकै बढेको उनले बताए । जयरामले भने, ‘हामी यसलाई रोक्न सकिरहेका छैनौं । थप पढ्नको लागि टाढाको विद्यालय जानुपर्छ । त्यहाँ जान, बस्न स्थानीयको आर्थिक अवस्थाले धान्दैन र पलायन हुन्छन् ।’

जयरामका अनुसार अहिले गाउँपालिकाले एउटा दरबन्दी दिएको छ । सोही दरबन्दीमा प्रधानाध्यापक नियुक्त गरिएका छन् । सानै उमेरमा बालबालिकालाई विद्यालय पठाउन निकै डराउने स्थानीयहरु अहिले भने ४ वर्षकै उमेरमा आफ्ना छोरा छोरीहरुलाई विद्यालय पठाउने वातावरण बनेको विद्यालयका सहायक प्रधानाध्यापक महेश बिकले बताए । उनले भने, ‘गाउँमै आधारभूत तहको विद्यालय नहुँदा हुने खाने तराई सर्ने र निम्न वर्गका बालबालिकाहरु पढ्न आइरहेका छन् ।’

कक्षा ५ सम्म सञ्चालन भएको यस विद्यालयलाई आधारभूत तहसम्म सञ्चालनका लागि सम्बन्धित पक्षले सहयोग गर्नुपर्ने उनको तर्क छ । दलित समुदायले अगुवाई गर्दै विद्यालय सञ्चालन गर्दा यहाँका राजनीतिकर्मीदेखि, बुद्धिजिवीसमेतको समेत साथ नपाउँदा निकै सकस खेप्नुपरेको उनले बताए । आफ्नै नाजुक अवस्था रहेको मुक्त हलिया समुदायको अगुवाइमा सञ्चालित विद्यालयमा निजी स्रोतबाट शिक्षक पाल्नुपर्ने, भौतिक संरचना निर्माणलगायत निकै समस्या थियो । ‘जब स्थानीय तह आए बल्ल शिक्षक पाल्ने जिम्मा लिएपछि विद्यालय सहज रुपमा सञ्चालन भएको छ । अहिले विद्यालयमा सरकारी दरबन्दीसमेत आइसकेको छ ।’ जयरामले भने ।

अहिले गाउँपालिका भरीका निजी शिक्षकहरुलाई समेत पालिकाले पारिश्रमिक उपलब्ध गराइरहेको छ । गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले शैक्षिक क्षेत्रको विकासका लागि सामुदायिक विद्यालयका शिक्षकहरुलाई पालिकाले पारिश्रमिक उपलब्ध गराइरहेको बताए । उनले भने, ‘सामान्य अवस्था भएको विद्यालयले शिक्षक पाल्नै नसक्ने अवस्था थियो । शिक्षकले पारिश्रमिकनै पाएन भने शिक्षाको गुणस्तर झन् खस्किदै जान्छ । त्यसकारण हामीले शिक्षकहरु सबैलाई पालिकाबाटै पारिश्रमिक उपलब्ध गराइरहेका छौं ।’

यो एउटा प्रतिनिधि मुलक घटना मात्रै हो । यस्ता धेरै ठाउँमा विद्यालय नभएकै कारण बालबालिकाहरुले शिक्षाबाट बञ्चित हुनु परेको थुप्रै घटनाहरु छन् । गाउँमा राजनीति गर्नेहरुले शिक्षालाई प्राथमिकता दिनुभन्दा पनि भौतिक निर्माणलाई जोड दिँदै आर्थिक मुनाफातर्फ केन्द्रित भएपछि उपलब्ध विद्यालयको गुणस्तर खस्कँदै गएको स्थानीय बताउँछन् । 

प्रकाशित समय : २२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु