प्रदेश २ मा नेकपा समाजवादीमा थप २ सांसदले गरे सनाखत
वि.सं.२०७८ भदौ २० आइतवार २२:०२
shares

नेकपा एमालेमा विद्रोह गरी गठन भएकाे नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेश २ मा थप दुई सांसदले आइतबार सनाखत गरेका छन् । थप दुई सांसदले एमाले परित्याग गर्दै नेकपा एस रोजेका हुन् ।
एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले सनाखत गरेपछि प्रदेशसभामा नेकपा एकीकृत समाजवादीको पक्षमा १३ जना सांसद हुने भएको छ । अर्का सांसद डिल्ली उप्रेतीको आजै साँझसम्म सनाखत भइसक्ने नेकपा एसका सांसद शत्रुधन महतोले जानकारी दिए । उपचारकाे क्रममा भारतमा रहेका उनकाे दिल्लीस्थित नेपाली दूतावासको रोहवरमा सनाखत गरेर निर्वाचन आयोगलाई पत्र पठाउने तयारी भइरहेको सांसद महतोले बताए ।
गत बिहीबार नेकपा एसको पक्षमा १० जना सांसद प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर सनाखत गरेका थिए र सांसदद्वय विश्वकर्मा र गुरुङ नेकपा एमालेको वीरगंजमा आयोजित प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए । नेकपा एसको पक्षमा आइतबार सनाखत गरेका सांसद सुन्दर विश्वकर्माले भने, 'हामीले हिजोसम्म नेकपा एमालेमा थियौं, आज मैले नेकपा एसको पक्षमा निर्वाचन कार्यालयमै पुगेर सनाखत गरिसकेकाले अहिलेदेखि नै नेकपा एसमा आवद्ध भएका छाैं ।'

























