प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत परियोजना तर्जुमा तथा व्यवस्थापन तालिम गराइँदैt
वि.सं.२०७८ साउन ५ मंगलवार १६:४०
shares

श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) ७५३ रोजगार सेवा केन्द्रका १५०६ स्थानीय कर्मचारीको लागि परियोजना तर्जुमा तथा व्यवस्थापन बारेमा १ दिनको क्षमता अभिवृद्धि प्रशिक्षण आयोजना गरिने भएको छ । पीएमईपीद्वारा आयोजित सो कार्यक्रम आइएलओको सहकार्यमा ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्रालिको एकाइमार्फत सञ्चालन हुने भएको हो ।
पीएमईपी श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको ठूलो परियोजना हो जुन बेरोजगारहरुलाई रोजगार पाउनका लागि परियोजना र कार्यक्रमहरुको विकासमा कार्यरत छ । पीएमईपीको कार्यक्रम मुलुकमा सफल पार्नका लागि प्रत्येक ७५३ स्थानीय स्तरमा १ रोजगार संयोजक र १ प्राविधिक सहयोगी कार्यरत छन् । पीएमईपीले आइएलओको सहकार्यमा रोजगार सेवा केन्द्रका कर्मचारीलाई प्रोजेक्ट साइकल व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम कार्यक्रमको आयोजना गर्न लागिरहेको छ । उक्त कार्यक्रमका कार्यान्वयनका लागि ग्लोकलले ई-लर्निङ प्लाटफर्ममार्फत कर्मचारीलाई तालिम दिने कुरा घोषणा गरेको हो ।
बेरोजगारलाई रोजगारीमा ल्याउन गरिएका सबै काम एक ठूलो परियोजना हो र यसलाई धेरै कुशलतापूर्वक व्यवस्थापन गर्न आवश्यक छ । रोजगार संयोजक र प्रत्येक प्राविधिक सहयोगीले ७५३ स्थानीय स्तरमा ठूलो परियोजना सञ्चालन गरिरहेका छन् । स्थानीय रोजगार सेवा केन्द्रका कर्मचारीका लागि नतिजामा आधारित परियोजना व्यवस्थापन र सञ्चार प्रशिक्षणको यो विशेष कार्यले पीएमईपीका कर्मचारीलाई प्रभावकारी प्रशिक्षण लिन र आफ्नो कार्य कौशलतालाई अझै ससक्त बनाउन झन प्रेरित गर्दछ । ७५३ रोजगार सेवा केन्द्रका स्थानीय कर्मचारीलाई परिणाममा आधारित व्यवस्थापन आधारभूत, र सञ्चारको सिद्धान्तबारे तालिम दिने लक्ष्यका साथ, ग्लोकलले कुल १५०६ जना कर्मचारीलाई दैनिक ४ समुहमा विभाजन गरी १० दिनसम्म तालिम सञ्चालन गर्नेछ । जुलाई २० देखि २९ सम्म हरेक समुहले ६ घण्टाको विस्तृत तालिम एवं प्रशिक्षण पाउनेछन् ।
उक्त तालिममा परियोजना चक्रको परिचय, प्रोजेक्ट डिजाइन र व्यवस्थापन, अनुगमन र मूल्यांकनका लागि प्रविधि, सार्वजनिक रोजगार कार्यक्रम, सिकाई र अनुभव, रोजगार सेवा केन्द्रद्वारा प्रभावकारी सेवा वितरणलगायतका विषय समावेश गरिने छ । यस पीएमईपी श्रम मन्त्रालय र रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना र आइयलओको सहयोगमा ग्लोकलको एक एकाइ, ग्लोकल आफ्टर स्कुलले प्रशिक्षण कार्यान्वयन पार्टनरका रुपमा काम गर्ने भएको छ ।

























