नेपालमा ‘सेल्फी विथ डटर’ अभियान सुरु
वि.सं.२०७८ वैशाख ३० बिहीवार २२:१५
shares

नेपालमा पनि 'सेल्फीविथ डटर' अभियान सुरु भएको छ । आइतबार एक भर्चुअल कार्यक्रममार्फत नेपालमा सेल्फीविथ डटर अभियान सुरु गरिएको हो । लैगिंक समानताका लागि भारतका सुनिल जगंलानले सुरु गरेको अभियानले भारतमा धेरै ख्याति प्राप्त गरेको थियो । साथै सरकारको तर्फबाट पनि पर्याप्त मात्रामा सहयोग र हौसला प्राप्त गरेको थियो ।
यो अभियान सेल्फीविथ डटर फाउण्डेसन, भारत र नेपाल इन्टरनेट फाउण्डेसनको सयंक्त रुपमा भर्चुअल कार्यक्रम आयोजना गरी नेपालमा पनि सुरु गरिएको हो । वर्षा भण्डारीले सञ्चालन गरेको भर्चुअल कार्यक्रममा प्रमुख आतिथिको रुपमा नेपालको तर्फबाट कक्षा आठमा अध्ययनरत तजैना श्रेष्ठ र भारतको तर्फबाट कक्षा नौमा अध्ययनरत अवनेशी श्रीमलको उपस्थिति रहेको थियो । यस अभियानमा नेपाल र भारतकोतर्फबाट कम उमेरका युवती र महिलाहरूले आफ्ना भनाइ राखेका थिए ।
नेपाल इन्टरनेट फाउण्डेसनको तर्फबाट अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा अझै पनि छाउपडी प्रथा जस्तो महिलालाई दमन गर्ने कार्य भईरहँदा यो नयाँ अभियानले छोरीहरुको महत्व र अधिकार सुनिश्चित गर्ने बताए । नेपालको तर्फबाट आरोही पौडेल, लिपासा श्रेष्ठ, प्रकृति ढुंगेल, ईशा श्रेष्ठ, सुधा जोशी, मेरिन राई, रम्भा श्रेष्ठले नेपालमा पनि महिलाहरुले घरेलु हिंसा भोग्नु परिरेहको र झन महामारीको समयमा धेरै नै भोग्नु परेको तथ्यहरु प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा बाल तथा महिला बलात्कार, एसिड आक्रमण, आत्महत्याका घटना, महिनावारी विभेदका विभिन्न विषयमा प्रस्तुत गरिएको थियो । सेल्फीविथ डटर अभियानले छोरीहरुको मुहारमा मुस्कान थप्नुको साथै महिलामा हुने भेदभाव, लैगिंक असमानता जस्तो व्यवहारमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको छ । कार्यक्रममा अतिथिको रुपमा सहभागीपूर्व विज्ञान तथा सञ्चार मन्त्री गणेश शाहले यो अभियानलाई आफ्नो तर्फबाट पूर्णरुपले सहयोग गर्ने र यसलाई ग्लर्स तथा प्यारेन्ट इन आइसिटीसँग पनि जोडेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
कल्पना श्रेष्ठले नेपाल इन्टरनेट फाउण्डेसनको नेतृत्वमा सञ्चालन गरिएको सेल्फीविथ डटर अभियानले समाजमा सकारात्मक सोच ल्याँउछ भन्दै ‘बेस्ट सेल्फी टाइटल’ को विषयमा पनि घोषणा गरिन । यो अभियानले सुरु गरेको प्रतियोगिता हो जसमा हरकोही नेपालीले आफ्नो छोरीसँग सेल्फी खिचेर सहभागिता जनाउन सक्नेछन् । यो अभियानको प्रतियोगिता अन्तर्राराष्ट्रिय मातृ दिवसको अवसरमा सुरु गरिएको हो यसमा सहभागी भएका सेल्फीहरुलाई प्रथम, दोस्रो र तेस्रो श्रेणीमा विभाजित गरेर पुरस्कृत पनि गरिनेछ ।
यस प्रतियोगितामा प्रथम हुनेले सिल्ड, सेल्फीविथ डटरको सर्टिफिकेट सहित २१ हजार रुपैयाँ नगद पाउनेछन् । त्यस्तै दोस्रो स्थान हासिल गर्न सफल भएको सेल्फीले सिल्ड, सेल्फीविथ डटरको सर्टिफिकेटसहित ११,००० रुपैयाँ नगद पाउनेछन् । तेस्रो हुनेले सेल्फी विथ डटरको सर्टिफिकेटसहित ५ हजार १,०० रुपैयाँ नगद पाउनेछन् । ‘बेस्ट सेल्फीविथ डटर’ टाइटल नेपालको तर्फबाट ३ ओटा र भारतको तर्फबाट ३ ओटा राम्रो सेल्फीलाई प्रदान गरिने आयोजकले जनाएको छ । यहीसँगै सबैभन्दा सक्रिय भोलेन्टियरलाई यो वर्षभरी नेपालको लागि ‘एम्बासेडर फर सेल्फीविथ डटर’ अभियानमा छनौट गरिनेछ ।
भारतको हरियाणा बीबीपुरबाट सुनिल जंगलानाद्वारा सुरु गरेको यो अभियान अहिले विभिन्न देशहरुमा प्रख्यात भइरहेको छ । कार्यक्रममा जंगलानाले यो अभियानले गर्दा भारतको हरियाणा देखि मेवातभन्ने गाउँसम्म धेरै परिवर्तन ल्याएको बताएका थिए । सेल्फीविथ डटर अभियानले भारतमा आन्दोलनको रुप लिइसकेको जसकारण भारतको दुर्गम गाउँहरुमा पनि छोरी चेली तथा महिलाहरुमा धेरैनै परिवर्तन र अवसरको मौका पाएको पनि बताए ।
यस अभियानमा सहभागी हुनका लागि आआफ्नो छोरीसँग हाँस्दै गरेको सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग # SelfiWith Daughter भनेर हाल्नुपर्नेछ । त्यस्तै सेल्फी विथ डटर डट आईएन पोर्टलमा पनि हाल्न सकिन्छ वा ह्वाटसएपमा ९८०१००००४४ मा पठाउन सकिन्छ ।

























