वर्षाका कारण १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी दुई दिन थप
वि.सं.२०८३ कात्तिक १६ सोमवार १७:१३
shares

ललितपुर । निरन्तर वर्षाका कारण दर्शकलाई अवलोकनमा असुविधा भएपछि ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ ।
आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष राजेशभक्त श्रेष्ठले दिनुभएको जानकारीअनुसार कात्तिक १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तय गरेको प्रदर्शनी अब कात्तिक १८ गतेसम्म सञ्चालन हुने भएको छ ।
वर्षाका कारण दर्शकलाई प्रदर्शनी अवलोकन गर्न असुविधा भएको भन्दै थप दुई दिन प्रदर्शनी सञ्चालन गर्ने निर्णय भएको उनले राससलाई जानकारी दिए ।
‘रोपौँ फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजित प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूल तथा पुष्प सजावटका सामग्री राखिएका छन् ।
फ्यानका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक रामबहादुर तामाङले दिएको जानकारीअनुसार आइतबार साँझसम्म मेलामा २३ हजारभन्दा बढिले अवलोकन गरेको र ७५ लाखभन्दा बढीको कारोबार भएको जानकारी गराए ।
सदर चिडियाखाना अगाडि जावलाखेल खेलमैदानमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीको सहआयोजकमा बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय रहेको छ । पुष्प विकास केन्द्र तथा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग र राष्ट्रिय फलफूल बाली विकास केन्द्र पनि सहआयोजक छन् ।
प्रदर्शनीले पुष्प व्यवसायको प्रवर्द्धन, फूलको व्यावसायिक उत्पादन तथा आन्तरिक बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको फ्यानका महासचिव हिरामणि शर्माले बताए।

























