परिवार नियोजन सेवाबारे जानकार बन्दै अपाङ्गता भएका व्यक्ति
वि.सं.२०८३ कात्तिक १६ सोमवार १७:२७
shares

बाँके । “यहाँ आएर धेरै नयाँ कुरा जान्ने अवसर पाएँ । परिवार नियोजन र प्रजनन स्वास्थ्यका विषयमा पहिले सबै कुरा थाहा थिएन । यसरी हामी जस्ता अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर जानकारी दिने कार्यक्रम हुनु निकै राम्रो लाग्यो ।” यो भनाइ हो, बाँकेको डुडुवा गाउँपालिका–५ का चन्द्रबहादुर बुढाथोकीको । उनले परिवार नियोजन सङ्घमा आएर यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजनसम्बन्धी जानकारी लिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।
खजुरा गाउँपालिका–१ की दृष्टिविहीन देवी थापामगरले पनि यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्ना स्वास्थ्यसम्बन्धी अधिकार र सेवाबारे जान्न सहज बनाएको बताए । उनले भने, “हामी दृष्टिविहीन व्यक्तिहरूलाई पनि यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजनका विषयमा जानकारी लिन आवश्यक छ । यस्ता विषयमा खुलेर कुरा गर्ने र जिज्ञासा राख्ने अवसर कमै पाइन्छ । यहाँ आएर धेरै कुरा बुझ्ने अवसर पाएँ । हामीलाई पनि अरू नागरिक सरह सेवा र जानकारी पाउने अधिकार छ भन्ने कुरा अझ स्पष्ट भएको छ ।”
चन्द्रबहादुर र देवी जस्तै, नेपालगञ्ज उपमहानगरपालिका–२० का शारीरिक अपाङ्गता भएका शिव कार्कीले परिवार नियोजन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारीले आफ्नो व्यक्तिगत जीवन र स्वास्थ्यका विषयमा सही निर्णय लिन सहयोग पुग्ने बताए ।
“अपाङ्गता भएका व्यक्तिहरूलाई पनि परिवार नियोजन र प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी उत्तिकै आवश्यक छ ।” उनले भने, “यस्ता विषयमा धेरैलाई जानकारी नहुन सक्छ । यहाँ आएर सेवा, सुविधा र अधिकारका बारेमा बुझ्न पाउँदा राम्रो लाग्यो । आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन भए हामीजस्ता व्यक्तिहरूलाई धेरै सहयोग पुग्नेछ ।”
अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर सन्चालन गरिएका यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा लिन प्रोत्साहित गर्नुका साथै उनीहरूको आवश्यकता र जिज्ञासाअनुसार सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । बाँकेमा सञ्चालन भइरहेका सचेतना तथा अभिमुखीकरण कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको परिवार नियोजनसम्बन्धी सेवामा पहुँच र सहभागिता बढाउन सकारात्मक योगदान पुर्याउँदै आएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूमा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार र परिवार नियोजनसम्बन्धी सेवाप्रति चासो बढ्दै गएको छ ।विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिहरूले परिवार नियोजनसँग सम्बन्धित सेवा, परामर्श तथा उपलब्ध सुविधाबारे जानकारी लिने र सेवा प्राप्त गर्न चासो देखाउने क्रम बढ्दै गएको नेपाल परिवार नियोजन सङ्घ, बाँके शाखाले जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूलाई यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारका विषयमा जानकारी गराउने उद्देश्यले सङ्घले विभिन्न समयमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाल परिवार नियोजन सङ्घ, बाँके शाखाकी शाखा प्रबन्धक रश्मि श्रेष्ठले विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिमा परिवार नियोजनसम्बन्धी सेवाप्रति चासो बढ्दै जानु सकारात्मक पक्ष भएको बताए ।
उनका अनुसार अभिमुखीकरण तथा सचेतना कार्यक्रममा सहभागी हुने व्यक्तिले सेवा र सुविधाबारे जानकारी लिने, जिज्ञासा राख्ने तथा उपलब्ध सेवाबारे चासो देखाउने गरेका छन् । उनले यस्ता कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजनसम्बन्धी सेवाबारे आवश्यक जानकारी दिँदै आएको बताए । उनले भने “सेवा सबैको पहुँचमा पु-याउने उद्देश्यले उनीहरूका जिज्ञासा सम्बोधन गर्ने र उपलब्ध सेवाबारे परामर्शसमेत हामीले प्रदान गर्दै आएका छौं ।”
प्रबन्धक श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अन्य नागरिकसरह यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजनसम्बन्धी सेवा तथा अधिकारको समान पहुँच आवश्यक रहेको उल्लेख गरे । सचेतना र अभिमुखीकरण कार्यक्रमले उनीहरूमा आफ्नो स्वास्थ्य र अधिकारप्रति जानकारी तथा चासो बढाउन सहयोग पुगेको उनले बताए ।
नेपाल परिवार नियोजन सङ्घ, बाँके शाखाको आयोजनामा अपाङ्गता भएका व्यक्तिका लागि यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (यसआरएचआर) सम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो ।

























