नेपाल टेलिकमले ल्यायो ‘लकडाउन स्टे कनेक्टेड’ अफर
वि.सं.२०७८ वैशाख ३० बिहीवार २१:०६
shares

कोभिड-१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था छ । यस विषम परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलिकमले वैशाख ३१ देखि एक महिनाका लागि 'लकडाउन स्टे कनेक्टेड' अफर ल्याएको छ ।
उक्त अफरको रूपमा टेलिकमले अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । अनलिमिटेड डे डाटा प्याक अफर ३९ रूपैयाँमा उपलब्ध हुनेछ । सो डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ । यस अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । दैनिक रुपमा एकपटक मात्र सो प्याक खरिद गर्न सकिने छ । यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने भएकोले सो समय अघि-पछि डाटा चलाउँदा ग्राहकले खरिद गरेको अन्य डाटा प्याक वा पे एज यु गो उपयोग हुनेछ ।
यस अवधिमा एमपोस अर्थात विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराइने छ । २०० देखि ४९९ रूपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराइने छ र सो डाटा २ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी ५०० रूपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइने छ । सो डाटा ४ दिनभित्र प्रयोग गर्न सकिने छ ।
यी अफर फोरजी नेटवर्कमा प्रयोग गरी तीव्र गतिको डाटा प्रयोग गर्ने अवसरको सदुपयोग गर्न सकिन्छ । साथै, आफ्नो मोबाइलको सिमले फोरजी नेटवर्क प्रयोग गर्न सक्ने/नसक्ने जाँच गर्न तथा फोरजी नेटवर्क एक्टिभेट गर्नका लागि *444# डायल गर्नु पर्दछ ।

























