गृहपृष्ठ सिटिजन लाइफको व्यवसायमा छलाङ, जीवन बिमा कोषमा १३८ प्रतिशतको वृद्धि
सिटिजन लाइफको व्यवसायमा छलाङ, जीवन बिमा कोषमा १३८ प्रतिशतको वृद्धि
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को तेश्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बिमाकोष बलियो बनाउँदै १३८ प्रतिशतले वृद्धि गरेको छ ।
गत वर्षको चैत्र मसान्तमा कम्पनीको जीवन बिमा कोष १ अर्ब २६ करोड ४९ लाख रहेकोमा यस चैत्र मसान्तमा सो रकम ३ अर्ब १ करोड ११ लाख पुगेको छ । यसका साथै कम्पनीले गत वर्षको चैत्र मसान्तसम्ममा कुल बिमा शुल्क १ अर्ब १८ करोड ५३ संकलन गरेकोमा यस वर्षको सोहीअवधिमा २ अर्ब ४८ करोड ७४ लाख संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बिमा शुल्क आर्जन ११० प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बिमा कोषमा १३८ प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ५० करोड ८ लाखबाट ६४ प्रतिशतले बढाएर ८३ करोड २० लाखको उचाई पुर्याएकाे छ । साथै कम्पनीले लगानी र बिमा लेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५५ प्रतिशतको वृद्धि गरी ३७ करोड २ लाख पुर्याएको छ ।
कम्पनीले यस चैत्र मसान्तसम्म १४ करोड ५७ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । जीवन बिमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ५ अर्ब ४० करोड ७१ लाखमध्ये करिब ७५.२८ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दति निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमासमेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।
हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवालाई अझै ग्राहककेन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम सञ्चालन गरेको छ । यस कोरोनाको विषम परिस्थितिमा विभिन्न सेवालाई अनलाइनमार्फत सेवा लिन सकिने गरी थप व्यवस्थासमेत गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बिमाको सचेतना बढाउन विद्यार्थीसँग बिमाजस्ता विभिन्न कार्यक्रमलगायत नवीनतम बिमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिममार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
प्रकाशित समय : १८:१२ बजे




















