गृहपृष्ठ पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका(२ स्थित लिउत गाउँ जाने बाटोमाथि पर्ने ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको चमेरा गुफालाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने तयारी थालिएको छ । प्राकृतिक सम्पदाका रूपमा रहेको चमेरा गुफा लामो समयदेखि ओझेलमा पर्दै आएकामा पछिल्लो समय पर्यटकीय सम्भावनालाई उजागर गर्दै व्यवस्थित विकासका लागि स्थानीय तह सक्रिय बनेको हो ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानसहित प्राविधिक टोलीले गुफा क्षेत्रको स्थलगत अवलोकन गरी संरक्षण, व्यवस्थापन तथा पर्यटन प्रवर्द्धनका सम्भावनाबारे अध्ययन गरेको छ । अवलोकनका क्रममा गुफाको वर्तमान अवस्था, संरक्षणका चुनौती, पर्यटक आकर्षित गर्न आवश्यक पूर्वाधार तथा दीर्घकालीन विकास योजनाका विषयमा विस्तृत छलफल गरिएको वडा सदस्य मनोजकुमार श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष चुमानले चमेरा गुफा आँबुखैरेनीको महत्वपूर्ण प्राकृतिक सम्पदा भएकाले यसको संरक्षणसँगै पर्यटन क्षेत्रका रूपमा विकास गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए। उनले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत आवश्यक रकम विनियोजन गरी गुफा क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिइने जानकारी दिए ।
, “हाम्रो गाउँपालिकाभित्र रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर आर्थिक विकासको आधार बनाउने लक्ष्य छ । चमेरा गुफा त्यस्तै सम्भावना बोकेको स्थल हो । यसको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक बजेट तथा योजना कार्यान्वयनमा ल्याइनेछ ।” उनका अनुसार गुफासम्म सहज पहुँचका लागि पदमार्ग निर्माण, सूचना बोर्ड स्थापना, सुरक्षाका आवश्यक व्यवस्था, सरसफाइ तथा वातावरणीय संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछ । यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
स्थानीयवासीका अनुसार चमेरा गुफा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । गुफाभित्र ठूलो सङ्ख्यामा चमेरा बसोबास गर्ने भएकाले यस क्षेत्रको जैविक विविधता संरक्षणका दृष्टिले पनि विशेष महत्व रहेको छ । उचित प्रचारप्रसार र पूर्वाधार विकास हुन सके यस क्षेत्र पर्यटनको नयाँ गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ ।
गाउँपालिकाले पर्यटन विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना, होटल तथा व्यवसाय प्रवर्द्धन, कृषि उत्पादनको बजार विस्तार तथा आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरेको छ । पर्यटनसँग जोडिएका सम्भावनाको उपयोग गर्न सके गाउँपालिकाको समग्र आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ ।
प्रकाशित समय : १७:४० बजे



















