गृहपृष्ठ टीकापुर नगरपालिकाले राजस्व लक्ष्य एक महिना अगावै पूरा गर्यो
टीकापुर नगरपालिकाले राजस्व लक्ष्य एक महिना अगावै पूरा गर्यो
भजनी कैलालीको टीकापुर नगरपालिकाले चालु आर्थिक वर्षको आन्तरिक राजस्व लक्ष्य एक महिना अगावै पूरा गरेको छ।
नगरपालिकाले चालु आर्थिक वर्षमा रु ८ करोड ५० लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा जेठ महिनामै उक्त लक्ष्य पूरा गरेको हो। राजस्व शाखा प्रमुख नन्द केसीले जानकारी दिए कि चालु आर्थिक वर्षको ११ महिनासम्म रु ८ करोड ६९ लाख २७ हजार ६९० राजस्व संकलन गरिएको छ। उनले भने कि वर्ष अन्त्यसम्म करिब रु ९ करोडभन्दा बढी राजस्व संकलन हुन सक्ने अनुमान गरिएको छ।
नगरपालिकाको कुल राजस्वमध्ये सबैभन्दा बढी हिस्सा सम्पत्ति करबाट प्राप्त भएको छ। सम्पत्ति करमार्फत रु ४ करोड १२ लाख ३९ हजार ५२० संकलन गरिएको छ। त्यस्तै, पर्यटन शुल्कबाट रु १ करोड ३२ लाख २ हजार ८४० संकलन गरिएको छ। यो रकम टीकापुर पार्कमा प्रवेश गर्ने पर्यटकबाट उठाइएको शुल्क हो।
राजस्व शाखा प्रमुख केसीले भने कि पार्क प्रवेश शुल्क वृद्धि गरिएकाले यस वर्ष पर्यटन शुल्कबाट हालसम्मकै उच्च राजस्व संकलन भएको हो। जेठ महिनासम्म दुई लाखभन्दा बढी पर्यटकले टीकापुर पार्कको अवलोकन गरेका छन्।
तर, नगरपालिकाको सरकारी सम्पत्तिको बहाल (भाडा) आय भने कमजोर देखिएको छ। सपिङ कम्प्लेक्सबाट मासिक लाखौँ रुपैयाँ भाडा संकलन हुनुपर्नेमा जेठ महिनासम्म केवल रु २३ लाख २६ हजार ६६१ मात्र संकलन गरिएको छ। करिब रु ३ करोड बक्यौता अझै असुल हुन बाँकी रहेको छ।
व्यापारी र नगरपालिकाबीच भाडा सम्बन्धी विवादका कारण भाडा संकलन प्रभावित भएको छ। सम्झौता अवधि सकिएका व्यापारीसँग नयाँ सम्झौता गर्न नसकिएको र अधिकांश व्यापारी बिना सम्झौता सटरमा सञ्चालन गरिरहेको बताइएको छ।
नगरपालिकामा आन्तरिक राजस्वका अन्य स्रोत भए पनि ती पूर्ण रूपमा परिचालन हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन्। स्थानीय मनोज रावलले भने कि बर्सेनि करको दर बढाएर मात्र होइन, करको दायरा विस्तार गरेर राजस्व बढाउन सकिन्छ। उनले भने कि अहिले पनि एक हजारभन्दा बढी अटोरिक्सा दर्ता र नवीकरणको पर्खाइमा रहेको र त्यसको व्यवस्थापन गर्न सके राजस्व अझ बढ्नेछ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडले भने कि राजस्व लक्ष्य पूरा गर्नु मात्र ठूलो कुरा नभई आवश्यकता र औचित्यका आधारमा करको दर निर्धारण गर्नुपर्ने आवश्यकता छ। उनले भने कि स्थानीयको भावना र वातावरण अनुकूल हुने गरी कर प्रणाली बनाउनु राम्रो हुने बताएका छन्।
प्रकाशित समय : १०:३३ बजे



















